माटोबिनाको तरकारी खेती «

माटोबिनाको तरकारी खेती

माटोबिनाको तरकारी खेती कत्तिको सम्भव होला ? माटोको प्रयोगबिना तरकारी उब्जाउ हुन्छ भन्ने कुरा सुन्दा पत्याउन पनि गारो । सुन्दै अचम्मलाग्दो माटोबिनाको खेती भनेपछि पानीमा गर्ने हो कि हावामा पो गर्ने हो ? भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो ।
यस्तो अचम्मको किसिमको खेती तेह्रथुमको म्याङलुङ नगरपालिका–१० तम्फुलाका एक युवाले सुरु गरेका छन् । २६ वर्षीय अनिलकुमार नेपाल स्नातकोत्तरसम्मको अध्ययन सकेर जागिरका लागि निकै भौंतारिए । त्यही सिलसिलामा केही विद्यालयमा अध्यापन पनि गरे, तर उनको आवश्यकतालाई त्यो सानो जागिरले परिपूर्ति गर्न सकेन ।
वैदेशिक रोजगारीमा लाग्नुभन्दा आफ्नै ठाउँमा केही गर्ने सोच थियो अनिलको । नयाँ र फरक किसिमको व्यवसाय गर्ने भन्दै विभिन्न ठाउँमा अनुसन्धानका लागि पुग्ने गर्थे उनी । निकै लामो खोज–अनुसन्धानबाट माटोको प्रयोगबिना तरकारी खेती गर्ने निर्णयमा पुगे उनी ।
नेपालले यस्तो किसिमको खेती सुरु गरेको तीन महिना भयो । माटोबिना उत्पादन भएका तरकारीहरू उनले बजारमा समेत लगेर बेच्न थालेका छन् । उनले नरिवलको जट्टा पेलेर बनाइएको ढुटो गमलामा राखेर तरकारी खेती गर्दै आएका छन् । “खेतबारीजस्तो खनजोत गर्नु नपर्ने, पानीको पनि बचत हुने भएकाले नमुनाका रूपमा यो खेती सुरु गरेको हुँ,” उनले भने । नेपालका चार–पाँच स्थानमा मात्र यस्तो खेती हुने गरेको र तेह्रथुममा भने यो नै पहिलो भएको उनले बताए ।
गमलामै मुख्य गरी लिफ्ली भेजिटेबल, साग, धनियाँ, गोलभेंडा, चाइनिज रायोलगायतका तरकारी खेती गर्दै आएका छन् । “खेती सञ्चालन गरेको तीन महिना भयो, माटोबिनाको तरकारी खेतीमा च्याउ पनि पर्ने भएकाले च्याउबाट पनि राम्रै आम्दानी हुँदै छ,” उनी भन्छन् । अन्य पातजन्य खेती तत्काल छिटो उत्पादन हुने र बजारमा पनि चाँडै बित्रीm हुने भएकाले यसलाई प्राथमिकतामा राखेर अगाडि बढेको उनको भनाइ छ ।
कुनै प्राविधिक तालिम नलिइकन इन्टरनेटको माध्यममा आफ्नै खोज अनुसन्धानबाट यो खेती गर्दा राम्रो हुने उनले बताए । “गरे फाइदैफाइदा छ,” उनी भन्छन्, “यसले व्यवसायीहरूका लागि एउटा गतिलो उदाहरण प्रस्तुत गर्छ ।”
यो खेतीका लागी नरिवलको जट्टा, गमला र पानी भए पुग्ने युवा कषक नेपाल बताउँछन् । “अप्ठेरोे भूगोलमा पनि यो खेती हुन्छ, मलिलो माटो आवश्यकता पर्दैन,” उनले भने । टनेल प्रयोग गरेर ग्रिन हाउस बनाई यो खेती हुने र ग्रिन हाउस प्राविधिकको टिमले निर्माण गर्ने उनले बताए ।
अनिलले राष्ट्रिय युवा स्वरोजगार कार्यक्रमअन्तर्गत सरकारको बिनाब्याज ५ लाख ऋण लगानीबाट यो व्यवसाय सुरु गरेका हुन् । कामका लागि उनले अन्य आफूजस्तै दस जना युवाको एउटा समूह नै बनाएका छन् ।
युवालाई विदेश पलायन हुनबाट रोकेर स्थानीय स्तरमै स्वरोजगार बनाउनु आफ्नो लक्ष्य भएको उनले सुनाए । “गाउँघरमा भएका युवालाई उत्साहित गर्नका लागि कामलाई निरन्तरता दिएको छु,” उनले भने । परम्परागत खेती नै गर्नुपर्छ भन्ने छैन, नयाँ पुस्ताले नयाँ नै खेती प्रविधिसँगै अघि बढ्न सकिने उनी बताउँछन् ।
—प्रकाश पाक्साँवा

प्रतिक्रिया दिनुहोस्