सर्वियाले नेपालीलाई अनअराइभल भिसा दिनसक्ने «

सर्वियाले नेपालीलाई अनअराइभल भिसा दिनसक्ने

नेपालीका लागि सर्विया जान भिसा आवश्यक नपर्ने व्यवस्था हुनसक्ने देखिएको छ । यसका लागि नेपाल सरकारसँग सर्विया सरकारले छलफल अघि बढाउने भएको छ । नेपाल भ्रमणमा रहेका सर्वियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री इभिका डासिसले यो जानकारी गराएका हुन् ।
नेपाल उद्योग परिसंघले उपप्रधानमन्त्री डासिसको सम्मानमा शनिबार काठमाडौमा आयोजना गरेकोस्वागत समारोहको अवसरमा उनले उक्त विचार व्यक्त गरेका हुन् । उनले नेपाल सर्विया (तत्कालिन युगोस्लाभिया) बीचको सम्बन्धलाई थप विस्तार तथा दुबै देशबीच लगानी र व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले आपसी समझदारीका आधारमा भिसा निशूल्क गरिने सोच भएको विचार व्यक्त गर्दै नेपाली उद्यमीले सर्वियामा लगानी गरेको उदाहरणले पनि दुबै देश बीच लगानीको राम्रो सम्बन्ध र अवसर रहेको बताए । यसमा परिसंघ जस्तो संस्थाले सर्वियाको लगानी नेपालमा भित्र्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास समेत उनले गरे ।
कार्यक्रमको प्रारम्भमा सर्वियन उपप्रधानमन्त्री र उनको प्रतिनिधि मण्डलको स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपाल र सर्विया दुबै मुलुक केही समयअघि राजनीतिक अस्थिरतामा गुज्रेको पृष्ठभूमीमा अहिले दुबै देशमा शान्ति र स्थिरताको वातावरण तयार भएकाले दुबै देश बीचको व्यापार र लगानीको यथेष्ट सम्भावना रहेको बताए ।
विकासको अनुभव गरिसकेको र सम्भावनायुक्त सर्वियासँग प्रविधि र लगानीका विषयमा नेपालले धेरै कुरा सिक्न सक्ने भएकाले दुवै देशबीच सहकार्यको प्रशस्त सम्भावना भएकोले नेपालको निजी क्षेत्र सर्वियाका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न समेत उनले अनुरोध गरे । साथै नेपालको लगानीकर्ता विशेषतः सि.जि. ग्रुपलाई सर्वियामा आफ्नो उद्योग स्थापना र सञ्चालन गर्न उचित वातावरण बनाइदिएकोमा सर्विया सरकारलाई धन्यवाद दिँदै अध्यक्ष शर्माले नेपालमा समेत लगानीको राम्रो वातावरण भएको सन्देश एवं जानकारी सर्वियाका लगानीकर्तासम्म पु¥याउन उपप्रधानमन्त्री समक्ष आग्रह गरे ।
उक्त अवसरमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले सर्वियाको लगानी वातावरण र नेपाल सर्विया बीचका सम्बन्धमा क्रमशःविस्तार हुँदै गएको धारणा व्यक्त गरे । कार्यक्रममा सर्वियन प्रतिनिधि मण्डलका सदस्य एवं नेपालकालागि सर्वियाका राजदूत भ्लादिमिर मारिक, उपप्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजदूत निकोला नेडिज्कोभिक, प्रतिनिधि मण्डलका अन्य सदस्यहरु, परिसंघका वरिष्ठ उपाध्यक्ष, पदाधिकारीहरु, गभर्निङ काउन्सिल र राष्ट्रिय परिषदका सदस्यहरु समेतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्