विद्युत् महसुल भुक्तानी अब अनलाइनबाट «

विद्युत् महसुल भुक्तानी अब अनलाइनबाट

वितरण केन्द्रमै पुगेर विद्युत् महसुल भुक्तानी गर्नुपर्ने बाध्यता अब हटेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले अनलाइनबाटै विद्युत्को महसुल भुक्तानी गर्ने व्यवस्था सुरु गरेपछि सर्वसाधारणलाई सजिलो हुने विश्वास गरिएको छ ।
केन्द्रले वैशाख १० गतेबाट अनलाइन प्रविधिबाट विद्युत्को महसुल भुक्तानी गर्ने व्यवस्था सुरु गरेको तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । उनका अनुसार ई–सेवा, महालक्ष्मी विकास बैंक लिमिटेड, प्रभु बैंक, हिमालयन बैंक, पेय प्वाइन्ट, सिटी एक्सप्रेस, नेपाल इन्भेस्टमेन्ट बैंकलगायत बैंक तथा वित्तीय संस्थाबाट विद्युत् महसुल बुझाउन सकिनेछ । यो सुविधा हाल दमौली र आँबुखैरेनी वितरण केन्द्रका ग्राहकहरूले उपयोग गर्न सक्नेछन् भने डुम्रे वितरण केन्द्रअन्तर्गतका ग्राहकहरूले एक साताभित्रै यो सुविधा पाउने गोशलीले बताए ।
दमौली वितरण केन्द्रअन्तर्गत १९ हजार ९३७ ग्राहक छन् भने आँबुखैरेनी अन्तर्गत करिब ३ हजार ग्राहक रहेका छन् । “अनलाइनबाटै विद्युत् महसुल भुक्तानी गर्न मिल्ने भएपछि सर्वसाधारणलाई सहज र समयको समेत बचत हुनेछ,” उनले भने, “यसका साथै वितरण केन्द्रमा सर्वसाधारणको चापसमेत कम हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्