भ्रष्टाचार, सिन्डिकेट र कालाबजारी मुक्त देश बनाउँछौं :मन्त्री महासेठ «

भ्रष्टाचार, सिन्डिकेट र कालाबजारी मुक्त देश बनाउँछौं :मन्त्री महासेठ

वीरगन्ज –  भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रघुवीर महासेठले सिन्डिकेट, भ्रष्टाचार र कालाबजारीको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री महासेठले नेपालमा अब कुनै राजनीतिक एजेन्डा नभएको र अबको एजेन्डा विकासको मात्रै बाँकी रहेकाले वर्तमान सरकार विकासको पथमा अगाडि बढेको बताए ।
मन्त्री महासेठले देश विकासका लागि अब सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने भन्दै त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयास गरिरहेको जानकारी दिए । आर्थिक समृद्धिको आधार तयार गर्नका लागि सरकार जुटेको भन्दै उनले भौतिक पूर्वाधारका काम द्रुतगतिमा भइरहेको पनि दाबी गरे । भारत र चीन दुई ठूला शक्ति राष्ट्रसँगको सम्बन्ध पञ्चशीलका आधारमा गरिने र दुवैदेशलाई समदूरीमा राखेर नेपालको विकास नेपालीले नै गर्नुपर्ने उनको भनाइ थियो ।
उनले तराईको जीवनरेखाको रूपमा रहेको हुलाकी सडक निर्माण ओली सरकारको पहलमा नै अगाडि बढेको जिकिर गर्दै हुलाकी सडकमा बनाउनुपर्ने १२५ वटा पुलमध्ये ५२ वटा सम्पन्न भइसकेको, ६० वटा निर्माणको अन्तिम चरणमा पुगेको र बाँकी डिजाइन तयार भइरहेको जानकारी दिए । उनले मधेसको विकासका लागि अझै विशेष प्याकेज ल्याउने तयारी भइरहेको बताउ ।
देशमा व्याप्त भ्रष्टाचार, कालोबजारी र सिन्डिकेट तोड्न सरकार लागि परेको भन्दै उनले तस्करीको जालो पनि चाँडै तोडिने बताए । निर्माण व्यवसायीमा पनि सिन्डिकेट रहेकाले यसलाई तोड्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस्