विश्वकै पाँचौ ठूलो अर्थतन्त्रमा क्यालिफोर्नियाले बेलायतलाई उछिन्यो «

विश्वकै पाँचौ ठूलो अर्थतन्त्रमा क्यालिफोर्नियाले बेलायतलाई उछिन्यो

क्यालिफोर्निया- क्यालिफोर्नियाको अर्थतन्त्रले विश्वकै पाँचौ ठूलो अर्थतन्त्रमा संयुक्त अधिराज्यलाई उछिनेको छ ।
क्यालिफोर्नियाको कुल गार्हस्थ्य उत्पादन २०१६ को तुलनामा २०१७ मा १२७ अर्ब डलरले बढेको छ । अब क्यालिफोर्नियाको अर्थतन्त्र २.७ ट्रिलियन डलर पुगेको तथ्यांकले देखाएको छ । यसैबीच संयुक्त अधिराज्यको उत्पादनमा यो अवधिमा थोरै संकुचन आएको छ । क्यालिफोर्नियामा ४ करोड मानिसको बसोबास रहदै आएको छ । क्यालिफोर्नियामा सिलिकन भ्याली, विश्वकै मनोरन्जनको राजधानी हलिउड जस्ता प्रख्याती कमाएका क्षेत्रहरु छन् । महा मन्दीपछि यो अमेरिकी राज्यले विस्तारै आफूलाई सुधार गर्दै आएको छ ।
कृषि बाहेकका सबै आर्थिक क्षेत्रले क्यालिफोर्नियाको जीडीपीमा योगदान गरेको यो राज्यको वित्त विभागका प्रमुख अर्थशास्त्री इरेना अस्मुन्डसनले बताए । वित्तीय क्षेत्र र रियल ईस्टेटले वृद्धिमा २६ अर्ब डलरको योगदान गरेका छन् । दोस्रोमा सूचना क्षेत्रको योगदान रहेको छ । यो क्षेत्रले २० अर्ब डलरको योगदान गरेको छ । म्यानुफ्याक्चरिङ क्षेत्रले १० अर्ब डलरको योगदान गरेको छ ।
यो भन्दा पहिले क्यालिफोर्निया २००२ मा विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भएको थियो । तर महा मन्दीको समयमा २०१२ मा आएर १० औं ठूलो अर्थतन्त्र भएको थियो । त्यसयता अमेरिकाकै ठूलो राज्यले २० लाख रोजगारी थप्यो र जीडीपीमा ७ खर्ब डलरको योगदान गरेको थियो ।
हाल क्यालिफोर्नियाको अर्थतन्त्र भन्दा ठूला अर्थतनत्रमा अमेरिका, चीन, जापान र जर्मनी मात्रै रहेका छन् । यो राज्यमा अमेरिकाको जनसंख्याको १२ प्रतिशत रहेको छ भने २०१२ देखि २०१७ सम्मको अवधिमा देशको रोजगारी वृद्धिमा १६ प्रतिशतको योगदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्