सम्पत्ति शुद्धीकरण आजको आवश्यकता «

सम्पत्ति शुद्धीकरण आजको आवश्यकता

सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य बुझिन्छ ।
सम्पत्ति शुद्धीकरण आजको आवश्यकता
नेपालको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा नेपालको बैंकिड क्षेत्रको भूमिका पनि अतुलनीय मानिन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्ना सबै ग्राहकको विवरण यो आर्थिक वर्षको अन्त्यमा केद्रीय बैंकलाई जानकारी गराउन भनेको छ । बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण कारोबारको निगरानी राख्नुपर्छ, जस्तै— पैसाको स्रोत वैध हो वा अवैधानिक । यसरी सम्पूर्ण कारोबारको सूक्ष्म निगरानी राखी ग्राहकको पहिचान राख्नुपर्ने कारण कुनै पनि आपराधिक समूहका लागि वा आपराधिक समूहको संलग्नता छ कि छैन भन्ने पहिचान गर्न नै हो । यसबाट ठूला–ठूला आपराधिक घटना रोक्न ठूलो भूमिका रहन जान्छ । सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य बुझिन्छ । सम्पत्तिको शुद्धीकरण विभिन्न जटिल तथा बहुचक्रीय प्रक्रियामार्फत राज्यसंयन्त्रको दुरुपयोग गरी हुने गरेको पाइन्छ ।
ऐनले संस्थाले आफ्नो ग्राहक वा वास्तविक धनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्चपदस्थ व्यक्ति भए÷नभएको यकिन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्नुपर्ने व्यवस्था पनि गरेको छ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिमको पहिचान तथा मूल्यांकन गर्नु सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीविरुद्ध सबल कानुनी संरचनाको विकास गर्ने तथा अभियोजन तथा न्याय निरूपणसम्बन्धमा प्रभावकारी व्यवस्था गर्ने माध्यम पनि हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकपालबाट वित्तीय क्षेत्रलाई जोगाउन रोकथामसम्बन्धी विस्तृत तथा प्रभावकारी उपाय अवलम्बन गर्ने तथा सबल र सक्षम सुपरिवेक्षकीय प्रणालीको व्यवस्था गर्ने हेतुले नेपाल राष्ट्र बंैकको निर्देशन अत्यन्त समसामयिक छ ।
सम्पत्ति शुद्धीकरणको कानुनलाई कडाइका साथ लागू नगरे आर्थिक अपराध र अपराधीलाई नै शक्तिशाली बनाउने हुनाले अर्थतन्त्रमा यसले नकारात्मक प्रभाव पार्छ । त्यसैले यस्ता प्रकारका काम–कारबाही रोक्का वा निवारण गर्न÷गराउन नेपालमा पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ र सो ऐनअन्तर्गत सम्पत्ति शुद्धीकरण नियमावली–२०६६ जारी भई लागू भइसकेका छन् । सम्पत्ति शुद्धीकरण निवारण कार्यका लागि सम्पत्ति शुद्धीकरण नियन्त्रण विभाग र नेपाल राष्ट्र बैंकमा रहेको स्वतन्त्र वित्तीय जानकारी एकाइ स्थापना भएका छन् । त्यस्तै संगठित अपराध र सपुर्दगीसम्बन्धी कानुनसमेत जारी भइसकेका छन् ।
यो सम्पत्ति शुद्धीकरणले नेपालको विदेशमा गरिने कारोबार तथा व्यापारमा ठूलो असर पर्छ । तसर्थ पनि नेपालका बैंक तथा वित्तीय संस्थाले यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु आवश्यक छ । बैंक तथा वित्तीय संस्थाले यसलाई कार्यान्वयन नगर्दाको अवस्थामा नेपालले आर्थिक क्षेत्र तथा देशले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । किनकि नेपाल विश्व समुदायमा कालोसूचीमा पर्नेबित्तिकै नेपाललाई न त विकास साझेदार, न त अन्तर्राष्ट्रिय व्यापारका पक्ष राष्ट्र कसैले पनि नेपालसँग सम्बन्ध राख्न चाहँदैनन् र नेपाल विश्व बजार तथा समुदायबाट बाहिरिन्छ, जसले गर्दा नेपालसँग द्विदेशीय वा बहुदेशीय कुनै विकास साझेदारले न त सहयोग गर्दछन्, न त व्यापार–व्यवसाय नै । त्यस्तै, विदेशी लगानीकर्ताहरू पनि नेपालबाट बाहिरिन्छन् र नेपालको अर्थतन्त्रमा मात्रै होइन, देश नै संकटमा पछए ।
प्रवीण न्यौपाने, बैंकर

प्रतिक्रिया दिनुहोस्