सिन्डिकेट पक्षधर आन्दोलित «

सिन्डिकेट पक्षधर आन्दोलित

सिन्डिकेटका विरुद्ध सरकारले चालेको कदम बिरुद्ध बाँकेका यातायात व्यवसायीहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरूले यातायात व्यवस्था विभागले एकपक्षीय रूपमा सरोकारवालाहरूसँग छलफल नै नगरी यातायात व्यवस्था कार्यविधि निर्देशिका जारी गरेको जनानउँदै आक्रोशसमेत व्यक्त गरेका छन् ।
यातायात व्यवसायीले यही वैशाख २१ गते देशभर सञ्चालित सार्वजनिक सवारी साधनहरू घर ग्यारेजमा राखी आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । सरकारले यातायात व्यवसायीले सिन्डिकेट गर्दै आएको आरोप लगाउँदै आगामी साउन १ गतेदेखि यातायात संघ–समिति नवीकरण नगर्ने कडा कदम चालेपछि यातायात व्यवसायीले आन्दोलनको तयारी गरेका हुन् ।
यातायात व्यवसाय महासंघ संयुक्त आन्दोलन समितिका तर्फबाट नेपालगन्जमा गरिएको पत्रकार सम्मेलनमा विभिन्न यातायात संघ-समितिका अध्यक्षहरूले आफूहरूले सिन्डिकेट नगरेको बताए । उनीहरूले सिन्डिकेट समाप्त गर्ने नाममा सरकारले व्यवसायीलाई समाप्त गर्न खोजेको बताए ।
संयुक्त आन्दोलन समितिका सदस्य एवं बागेश्वरी यातायात व्यवसायी समिति कोहलपुरका अध्यक्ष मनप्रसाद आचार्यले आफूहरूले सिन्डिकेट नभई सवारी साधन आलोपालेको आधारमा सञ्चालन गरेको बताए ।
भेरी अञ्चल यातायात व्यवसायी संघ नेपालगन्जका कार्यवाहक अध्यक्ष शोभाखर पौडेलले बाँके बर्दियामा मात्रै २५ सय बढी सवारी साधनमा ७ अब बढी लगानी र १० हजार बढीलाई रोजगारी प्रदान भएको भन्दै लगानीको सुरक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि आफूहरू तयार रहेको बताए ।
नमस्ते नेपाल यातायात व्यवसायी संघ कोहलपुरका अध्यक्ष निरक चलाउनेले यातायात समितिहरू सरकारको नीति नियमअनुसारनै सञ्चालन भई सरकारलाई सहयोग गर्दै आएको दाबी गरे । यातायात व्यवस्था कार्यविधि निर्देशिका सच्याएर वार्ताको माध्यमबाट व्यवसायी र सरकार दुवैको जित हुने गरी यातायात प्राधिकरण बनाउन पर्ने चलाउनेको सुझाव छ ।
कार्यविधि नसच्याएसम्म यातायात क्षेत्रका समस्या समाधान नहुने समितिका पदाधिकारीहरूको भनाइ छ । गत चैत १८ गते यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकाका केही बुँदाहरू ऐन–नियमसँग बाझिएको हुँदा निर्देशिका नै खारेज गर्न व्यवसायीले माग गरेका छन् ।
सार्वजनिक यातायातका साधनहरू स्वस्थ प्रतिस्पर्धाका आधारमा सञ्चालन गर्ने व्यवस्था, यातायात क्षेत्रको अधिकार प्रदेश सरकारलाई दिइनुपर्ने, असीमित बिमा नीति लागू गर्नुपर्ने, २० वर्ष पुराना सवारी साधन विस्थापन गर्ने निर्णय सच्याउने, सडक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्ने लगायतका माग संयुक्त रूपमा पेश गरिएको छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ संयुक्त आन्दोलन मूल समितिले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा क्यूफ्रिदेखि अनिश्चितकालीन हड्तालसम्मका आन्दोलन घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक व्यातायात व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, पेट्रोलियम डिलर्स एसोसिएसनले संयुक्त रूपमा यातायात सेवा ठप्प पार्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्