Logo

नातिनीको बालविवाह गराउँदा , बाजेको जेष्ठ नागरिक भत्ता रोक

जुम्लामा अझै बालविवाह गर्ने क्रम बढिरहेको छ । सरकारले बालविवाह रोक्न विभिन्न अभियान थालेको छ । तर प्रभावकारी देखिएको । लक्ष्यअनुसार ग्रामीण भेगका नागरिकमा शिक्षा तथा चेतनाको पहुँच पर्याप्त छैन । शिक्षा अभाव, रोजगारी नहुनु, गरिबी तथा सामाजिक संस्कारका कारण अझै बालविवाह रोकिएको छैन । यसको प्रभाव यहाँका महिलामा बढी देखिने गरेको छ । बालविवाहले निम्त्याउने विभिन्न समस्याका बारेमा व्यापक चेतना फैलाउन नसकिएकाले पनि यो समस्या बढदै गएको हो ।

जुम्लाका आठवटा स्थानीय तहमध्ये पातारासी गाउँपालिका चौधबिस क्षेत्रका अधिकांश किशोर किशोरीले उमेर नपुगेर बालविवाह गर्ने गरेका छन् । १३/१४ वर्षका बालबालिकाले आफंै गाउँघरमा भेटभाट गरी भागेर बालविवाह गर्ने गरेको स्थानीय चन्द्रबहादुर बुढाले बताए । उनले भने, “एकै गाउँबस्तीमा थरीथरीका जातजातिको बसोबास हुन्छ र एक अर्काे जातिमा विवाहवारी पनि चल्छ ।” पातारासी गाउँपालिका–५ चौरकी १६ वर्षीय संगिता बुढाले १ नम्बर वडाका विर्ख बोहोरासँग २०७४ चैत २३ गते बालविवाह गरेपछि उनका बाजे भक्त बुढाले चालू आवको दोस्रो चौमासिक जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाएनन् ।
पातारासी गाउँपालिकाबाट बालविवाह उन्मूलन अभियानलाई अघि सारेकाले गाउँमा त्यस्ता कार्य गर्ने जोकोहीलाई चेतावनीका रूपमा राज्यको सेवा सुविधा रोकेको न्याययिक समिति संयोजक तथा उपप्रमुख पुन्नकली महताराले बताइन् । जसका कारण संगीताका बाजे भत्ता पाउनबाट वञ्चित भएका छन् । उनले भनिन्, “यो क्षेत्रमा अहिलेसम्म गाउँपालिकामा बालविवाह गरेको उजुरीको रूपमा आएको छैन तर गाउँघरमा यस्तो खालको परम्परा रहेको छ ।” “बालविवाह उन्मूलनका लागि बाल क्लबदेखि महिला समूह र सरकारी तवरबाट धेरै जनचेतना भए पनि सुधार नभएपछि राज्यको सेवा सुविधाबाट वञ्चित गराउने अभियान चलाएका हौं,” उनले भनिन् ।
पातारासी गाउँपालिका प्रमुख लछिमन बोहोराले चौधबिस क्षेत्रबाट बालविवाह अन्त्य गर्नका लागि कडा रूपमा लागिपरेको बताए । उनले भने, “म यहाँकै बासिन्दा हँु मलाई यस क्षेत्रमा पर्याप्तमात्र बालविवाह हुन्छ भन्ने थाहा छ ।” तर हामीलाई कारबाही अगाडि बढाउनका लागि पालिका उजुरी आएका छैन । अब हामी बालविवाह हँुदै गरेको जानकारी पाउन साथ घटनास्थलमा कारबाही गर्ने अभियानमा छौं ।

सानै उमेरमा विवाह भयो पढ्न पाइएन
पातारासी गाउँपालिका–५ छुमकी सानै उमेरमा आमा बनेकी किशोरी विष्णुमाया बुढाले भनिन्, “मेरो १६ वर्षको उमेरमा विवाह भएको हो अहिले २३ वर्षकी भएँ दुई बच्चा छन् । सानो उमेरमा विवाह गर्नु हुदैन भन्ने थाहा भएन अहिले पछुताउनु बाहेक अरु उपाय छैन ।” सानैमा बालबच्चाका आमा भएपछि आफ्नो पढाइ पनि बिग्रियो आधा पढ्दै स्कुल छोड्नु पर्ने स्थिति आयो बुढाले भनिन् । “नत पढ्न पाइयो, नत स्वास्थ्य स्थिति नै राम्रो छ । अहिले पढ्न पनि सम्भव छैन । ऊ बेला साथीको लैलैमा लागेर विवाह गरेपछि अहिले पछुताउनु परेको छ,” उनले भनिन्, “आफ्नै उम्मेरका साथीहरू अहिले पढेको देख्दा निकै रहर लाग्ने गरेको छ ।”

महिला पाठेघरका रोगी
चौधबिस क्षेत्रका महिलामा बढी पाठेघरको समस्या देखिने गरेको पातारासी स्वास्थ्य चौकीका सिनियर अहेव कृष्ण बुढाले बताए । उनले भने, “यहाँ सानै उमेर विवाह गर्ने र सानै उमेरमा बच्चा जन्माउनाले यस्तो समस्या बढी देखिएको हो ।” महिलाहरूमा कार्य बोझ बढी छ पौष्टिक आहारा हुदैन सुख्खा खाना खान्छन् त्यसले गर्दा पनि समस्या निम्तिएको हुनसक्ने उनले बताए ।
कामको आधारमा आराम तथा खानपानमा ध्यान नदिनाले कर्णालीका महिलामा पाठेघरको समस्या देखिन्छ । कार्यबोझ घटाउन यहाँका सरोकारवालाले विभिन्न चेतनामूलक कार्यक्रम गरे पनि प्रभावकारी हुन सकेका छैन । जसले सभासम्मेलनमा चिप्ला कुरा गर्छन् उनकै घरकी श्रीमती बढी प्रभावित छन् ।
जुम्लाका स्थानीय तहले घरका जुनसुकै परिवारले बालविवाह गरेको भेटिएमा सामाजिक सुरक्षाभत्ता पाउनबाट रोक लगाएको सुन्दा सबै झस्किएका छन् । बालविवाह गर्नेलाई बहिष्कार गर्ने, सरकारी सेवा सुविधा नदिने लगायतका नियम बनाए बालविवाह रोकिने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्