विकसित राष्ट्रहरू नै विश्व व्यापीकरणको विपक्षमा : विनोद चौधरी «

विकसित राष्ट्रहरू नै विश्व व्यापीकरणको विपक्षमा : विनोद चौधरी

चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्व व्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको बताए । “विकसित राष्ट्रहरूले आज अन्तर्राष्ट्रिय व्यापारका ढोका बन्द गर्ने सुरसार कस्दै छन् र आफ्नो बजार र रोजगारीलाई सुरक्षित गर्न लागिपरेका छन्,” अमेरिकाको लस एन्जलसमा मिल्केन इन्स्टिच्युटद्वारा आयोजित विश्व सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, “यसको मतलब के अब हामीले विश्व व्यापीकरणको मान्यतालाई अन्त्य गर्न चाहिरहेका छौँ ?”
पछिल्लो समय अमेरिकी ट्रम्प प्रशासनले चिनियाँ उत्पादनलाई अमेरिकी बजार प्रवेशमा अवरोधका नीति लिएसँगै यो विषय विश्वव्यापी बहसमा आएको छ । अमेरिकी सरकारले लिएको नीतिको प्रतिक्रिया स्वरूप चीन सरकारले पनि अमेरिकी उत्पादनमाथि आफ्नो बजारमा कडाइको नीति अवलम्बन गर्ने सम्भावना बढेर गएको छ । विश्व व्यापीकरणविरूद्ध चालिएका यी कदमले विश्व बजारलाई नकारात्मक प्रभाव पार्ने देखिएको छ ।
“विश्व व्यापीकरणलाई प्रवद्र्धन गर्न विगतमा चालिएका कदमहरू गलत थिए भनेर निश्कर्षमा पुग्ने समय आएको हो ?” अध्यक्ष चौधरीले भने, “विश्वव्यापी रूपमा गम्भीर समीक्षा बिना आफ्नो बजार र रोजगारी सुरक्षाका नाममा चालिएका यी कदमहरू संभवतः राजनीतिक लोकप्रियताका लागि हुनसक्छ । तर, त्यसले विश्वमा अर्कै वातावरण तयार गरिदिनेछ ।
अध्यक्ष चौधरीले लगानीकर्ताका लागि विकासशील राष्ट्रहरू (इमर्जिङ इकोनोमी)मा मात्रै बढी जोखिम हुने विश्लेषण सत्य नरहेको र विकसित राष्ट्रहरूले पनि सोही चरित्र अवलम्बन गरिरहेको भन्दै आलोचना गरे । “अमेरिकालगायतका पश्चिमा विकसित राष्ट्रहरूले पनि कुन बेला कुन नीति लिने छन् भनेर लगानीकर्ताहरू ढुक्क हुन सक्ने अवस्था छैन ।”
“विकसित मुलुकमा सफल भएका व्यवसायिक अवधारणाहरू विकासशील मुलुकहरूमा हस्तारन्तरण गरिनुपर्छ,” अध्यक्ष चौधरीले भने, “यसले ती देशको आर्थिक विकास अभियानलाई अगाडि बढाउन सहयोग पुग्छ ।”
विश्व सम्मेलनमा अध्यक्ष चौधरीले नेपालका बारेमा जानकारी दिँदै नेपाल आर्थिक विकासको सकारात्मक बाटोमा अगाडि बढिरहेको र यो प्रयासमा साथदिन आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्