असार १५ गतेसम्म सहकारी हस्तान्तरण सक्न निर्देशन «

असार १५ गतेसम्म सहकारी हस्तान्तरण सक्न निर्देशन

सहकारी विभागले आगामी असार १५ गतेसम्ममा सबै स्थानीय तह र प्रदेशलाई सहकारी हस्तान्तरण गर्न डिभिजन सहकारी कार्यालयहरूलाई निर्देशन दिएको छ । संघीय सरकारले चैत अन्तिम साता स्थानीय तहको अधिकार छिटो हस्तान्तरण गर्ने निर्णय गरेपछि विभागले पनि मातहतका कार्यालयलाई निर्देशन दिएको हो ।
सरकारको निर्णयअनुसार सहकारीको दर्ता तथा अनुगमनको काम गर्दै आएका ३३ वटा सहकारी डिभिजन कार्यालय र ५ वटा सहकारी प्रशिक्षण केन्द्र तथा डिभिजन कार्यालय खारेज भइसकेका छन् । तर, सहकारीको हस्तान्तरण नसकिएसम्म यी कार्यालयहरू सञ्चालनमा रहनेछन् । कार्यालयहरूलाई स्थानीय र प्रदेश तहमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सहकारीको अभिलेख हस्तान्तरण गर्न निर्देशन दिएको छ ।
संविधानमा एक स्थानीय तहभित्र कार्यक्षेत्र भएका सहकारी स्थानीय तह, एकभन्दा बढी स्थानीय तह कार्यक्षेत्र भएका सहकारी प्रदेश र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएका सहकारीहरू संघ मातहत रहेन व्यवस्था छ ।
नवनिर्वाचित जनप्रतिनिधिलाई सहकारीबारे ओरेन्टेसन गरी अभिलेख हस्तान्तरण भइरहेको विभागका रजिष्टार केशवप्रसाद रेग्मीले जानकारी दिए ।
हाल देशभर ३४ हजार ५ सय सहकारी दर्ता भएका छन् । ती सहकारी संघ–संस्थामध्ये डेढ सयको हाराहारीमा मात्र संघ मातहत रहनेछन् । त्यसबाहेक ५ हजार हाराहारीमा प्रदेश मातहतमा र बाँकी स्थानीय तह मातहतमा जाने विभागको अनुमान छ ।
सहकारीको दर्ता अभिलेख हस्तान्तरणका लागि सहकारीको कार्यक्षेत्रका आधारमा फाइल बनाउन डिभिजन कार्यालयलाई विभागले निर्देशन दिएको थियो । डिभिजन कार्यालयले तयार गरेको अभिलेख अभिमुखीकरण कार्यक्रमसँगै हस्तान्तरण गर्दै लैजाने विभागको योजना छ ।
सरकारले माघ दोस्रो सातादेखि हेटौंडाबाट सहकारीको अभिलेख हस्तान्तरण सुरु गरेको थियो । हालसम्म ४२ जिल्लामा स्थानीय तहलाई हस्तान्तरण सकिएको र छिट्टै प्रदेशमा पनि सुरु गर्ने विभागले जनाएको छ ।
स्थानीय र प्रदेश तहमा सहकारीको दर्ता तथा अनुगमनको कामलाई प्रभावकारी बनाउनका लागि सहकारी विभागले सहयोग गरिरहेको छ । स्थानीय तहलाई सहकारीको दर्ता तथा अनुगमनका लागि नमुना विनिमय तथा मापदण्ड बनाएर मन्त्रालयमार्फत सबै निकायमा पठाइएको रजिष्टार रेग्मीले जानकारी दिए ।
यसैगरी स्थानीय र प्रदेश तहमा सहकारी हेर्ने कर्मचारीलाई सहकारी प्रशिक्षण केन्द्रमा प्रशिक्षण समेत दिइएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्