पाचथरलाई समृद्ध बनाउने घोषणा «

पाचथरलाई समृद्ध बनाउने घोषणा

पूर्वी पहाडी जिल्ला पाँचथरमा चुनावी सरगर्मी निकै बढेको छ । मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनका लागि मत माग्न उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय भएका छन् । निर्वाचनको अन्तिम समयमा उम्मेदवारहरू मतदाता फकाउन व्यस्त छन् । पाँचथरमा विशेष गरी लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ । विकासका एजेन्डालाई प्रमुख प्राथमिकतामा राखेर उम्मेदवारहरू मत माग्न क्रियाशील भइरहेका बेला दुई गठबन्धनका उम्मेदवारहरूसँग कारोबारकर्मी दीपक बोहोराले गरेको कुराकानीका सार:

पाच वर्षभित्र पाचथरको मुहार परिवर्तन गर्नेछु

भीष्मराज आङदेम्बे
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, नेपाली कांग्रेस

२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पाँचथर क्षेत्र नम्बर २ बाट निर्वाचन भएको हुँ । अहिले पाँचथर एउटा मात्र क्षेत्र कायम भएको छ । मलाई पार्टीले विश्वास गरेर निर्वाचनमा उम्मेदवार बनाएको छ । मैले यसअघि पनि जिल्लाको विकासका लागि प्रभावकारी भूमिका निर्वाह गरेको कुरा मतदातालाई अवगत नै छ । म आगामी दिनमा पनि मतदाताको मन जित्ने गरी काम गर्ने प्रतिबद्धतासहित उम्मेदवार बनेको छु ।
विकसित र समृद्ध पाँचथर निर्माण नै मेरो प्रमुख एजेन्डा हो । म विजयी भएमा पाँचथरलाई पाँच वर्षभित्र नमुना जिल्लाका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । पाँचथरको कृषि, आर्थिक, शैक्षिक र पर्यटनको विकासलाई प्राथमिकता दिनेछु । विगतमा सांसद हुँदा मेरै पहलमा धेरै योजना जिल्लामा सञ्चालनमा आएका छन् । ती योजनालाई पूरा गर्ने दायित्व पनि मेरो भएकाले त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
पाँचथरको रवि–राँके सडकखण्ड, फिदिम फालोट सडकखण्डका योजनालाई पनि मैले प्राथमिकतामा राखेको छ । ती योजना सम्पन्न भएपछि जिल्लाको मुहार फेरिने आशा गरेको छु । त्यसैगरी जिल्लामा सूचना तथा प्रविधिको विकासमा विशेष ध्यान पु¥याउनेछु । सूचना प्रविधिका माध्यमबाट रोजगारीका अवसर सिर्जना गरेर विदेश पलायन हुने जनशक्तिलाई जिल्लामै रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।

 

सडक सञ्जाल विस्तार र रोजगारी मुख्य प्राथमिकता

वसन्तकुमार नेम्वाङ
प्रतिनिधिसभा सदस्यका उम्मेदवार, वाम गठबन्धन

म पूर्वसांसद र नेकपा एमाले जलस्रोत विभागको सचिव पनि हुँ । मलाई वाम गठबन्धनले विश्वास गरेर पाँचथरको प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । समृद्ध पाँचथर बनाउने मेरो उद्देश्य रहनेछ । जिल्लाका मतदातामाझ म चिरपरिचित व्यक्ति भएकाले यहाँका समस्या मलाई राम्रोसँग थाहा छ । ती समस्यासँग जुध्न सक्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता ममा छ ।
वामगठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ । घोषणापत्रमा उल्लेख गरिएका सबै विषय पूरा गर्नु मेरो कर्तव्य हुनेछ । म निर्वाचित भए पनि जिल्लाका मतदाताको मन दुखाउने गरी कुनै पनि काम गर्नेछैन । राष्ट्रिय हितलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रण गरेको छु । पाँचथर आर्थिक रूपमा निकै पछाडि परेको जिल्ला भएकाले यहाँका जनताको जीवनस्तर सुधार गर्नु मेरो दायित्व हुनेछ ।
पाँचथरका जनताले आधारभूत आवश्यकताका कुरा अझै पाउन सकेका छैनन् । उनीहरूका आवाजलाई केन्द्रीय सरकारले समेत अझै सुनेको अवस्था छैन । म जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि यहाँका तमाम समस्या समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।
सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको छु । जिल्लामा उत्पादित कृषिजन्य उत्पादनले बजार पाउन नसकेको अवस्थामा सहज सडक सञ्जाल विस्तारपछि त्यस्ता वस्तुको बिक्रीबाट राम्रो आम्दानी गर्न सक्ने व्यवस्था मिलाउनेछु । विकासका पूर्वाधार निर्माणदेखि बेरोजगारी अन्त्य, भ्रष्टाचार नियन्त्रण पनि मेरा प्राथमिकताका विषय छन् । जिल्लावासीले मलाई मत दिएर विश्वास गरी निर्वाचित गरेमा मैले गरेका सबै प्रतिबद्धता पाँच वर्षभित्र पूरा गराउने प्रण गरेको छु ।

प्रतिक्रिया दिनुहोस्