कृषक आयस्तर वृद्धि आयोजना सञ्चालनमा ढिलाइ

बर्दियाः एसियाली विकास बैंकको अनुदान तथा सहयोगमा सञ्चालित साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाअन्तर्गत बर्दियामा सञ्चालित २५ वटा उपआयोजना सञ्चालनमा ढिलाइ भएको छ ।
विभिन्न समूह, सहकारी तथा निजी फर्मले आयोजनाबाट उपआयोजना सञ्चालनका लागि सम्झौता गरे पनि सम्झौताअनुसार काम नगर्दा जिल्लामा सञ्चालित ४५ मध्य २५ उपआयोजनामा ढिलाइ भएको हो ।
आयोजनाअन्तर्गत जिल्लाका उपआयोजना सञ्चालनमा कुल ३५ करोड ६३ लाख ९० हजार लगानी छ । जसमध्ये अनुदान ग्राहीको २१ करोड ४० लाख ३५ हजार र अनुदानवापतको १४ करोड २३ लाख ५५ हजार रहेको जिल्ला कृषि विकास कार्यालय बर्दियाले आयोजना गरेको प्रगति समिक्षा गोष्ठीमा जिल्ला अनुगमन अधिकृत रचना ढकालले जानकारी गराइन् ।
“जिल्लामा सञ्चालित ४५ मध्य १४ उपआयोजना मात्रै समयमा सम्पन्न भएका छन” उनले भनिन्, “बाँकी रहेका ३१ मध्य ३ सामान्य, ३ सम्भावित ढिलाइ र २५ उपआयोजनामा ढिलाइ भएको छ ।” जिल्लाका १४ कृषक समूह, १८ सहकारी र १३ निजी फर्म तथा कम्पनी गरी ४५ उपआयोजना सञ्चालनका लागि आयोजनासँग सम्झौता गरी अनुदानग्राहीले अनुदानवापतको रकम उपआयोजनाको प्रगतिका आधारमा भुक्तानी लिएका छन् ।
ढिलाइ भएका उपआयोजना मध्ये ४ वटा उपआयोजनामा हालसम्म कुनै पनि किस्ता रकम निकासा हुन सकेको छैन । त्यस्तै १४ उपआयोजनामा पहिलो किस्तामात्रै निकासा भएको छ भने १० उपआयोजनाको दोस्रो किस्ता निकासा भएको र ३ उपआयोजना सम्झौता रद्द गरिएको बताइएको छ ।
यसरी तोकिएको समयभित्र आयोजना सम्पन्न नहुँदा पटक पटक म्याद थप्ने कार्यमात्र भएको छ । जसले गर्दा आयोजनाले लिएको लक्ष्य हासिल गर्न ढिला हुनुका साथै अनुदानलाभग्राही समूह, सहकारी र फर्मका सदस्यले प्रतिफल पाउन सकिरहेका छैनन् ।
कृषि व्यवसाय अनुदान कोष र अनुदानग्राहीको समेत गरी जिल्लामा ७ लाख देखि ८ करोडसम्मका विभिन्न ४५ वटा आयोजना सञ्चालनमा छन् । अनुदानग्राहीसँगको सम्झौताअनुसारका उपआयोजना ढिलाइ हुँदा २५ वटा उपआयोजना अधुरै रहेका छन् । साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगन्जका प्रमुख गोकर्ण अर्यालले आयोजनाका कारणले ढिलाइ नभएको बताए ।
“केही उपआयोजना ढिलो कार्यान्वयन भएकाले समयमै सम्पन्न हुन नसकेका हुन् भने केहीमा आन्तरिक समस्याका कारण ढिलाइ भएको हो,” उनले भने, “म्याद थप गरिएको अवधिभित्रै सम्पन्न गर्न हामीले दबाब दिइरहेका छौं ।”
एसीयाली विकास बैंकको अनुदान सहयोगमा १४ जुन २०११ देखि सुरु भएको यो आयोजना ३० जुन २०१८ मा सम्पन्न हँुदैछ । हाल सम्पन्न भईसकेका समुहमा संचालित उप आयोजनावाट हालसम्म ६ करोड ३७ लाख बढी आम्दानी कृषकहरुले गर्न सफल भएको कृषि प्राविधिक बुद्धिबहादुर डाँगीले बताए ।
आयोजना अन्तगर्तका उपआयोजना समयमै सञ्चालनमा आए बर्दियामा शितभण्डार, फलफूल प्रशोधन, टिस्युकल्चर प्रविधिवाट केराको बेर्ना उत्पादन, आलु पूर्वमूलबीउ (पीबीएस), मसुरो प्रशोधन विभिन्न मेसिनरी प्रयोगलगायत जिल्लामा नभएका नयाँ प्रविधिको प्रयोग गरेर जिल्लावासीको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको उनको भनाइ छ ।