निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन «

निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन

निजी विद्यालय सञ्चालकको संगठन प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फेले सरकारी नियम र शिक्षासम्बन्धी सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेको भन्दै निजी विद्यालयले बढाएको शुल्कवृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष सम्वाहाम्फेले नियम नीतिकै आधारमा निजी विद्यालयले शुल्क वृद्धि गरेको स्पष्ट पारेका हुन् ।
उनले भने, “हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन् । विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ । हामीले नियम मानेका छांै, निर्देशिका कार्यान्वयन गरेका छौं ।”
कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाए । उनले भने, “वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने । निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय मागिरहेका छौं । तर उहाँले भेटको लागि समय दिनुभएको छैन ।”
निजी विद्यायल सञ्चालकहरुका पनि केही समस्या भए पनि उनीहरुले आफ्ना समस्या छन् भन्दैमा गरिबहरुको जीवनमाथि बज्रप्रहार गर्न नहुने उनको भनाइ छ ।
सभापति महरले प्रत्येक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई २० प्रतिशत छुट्याउनुपर्ने पनि माग गरे । उनले थपे, “सरकारी विद्यालयको स्तरोन्नति गर्नतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्छ ।”
कार्यक्रममा एन–प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने बताए । उनले भने, “समस्याको जरो पत्ता लगाउनुपर्छ, विद्यार्थी संगठनहरुको ताला लगाउने आन्दोलनको रुप अझै जारी छ । विद्यार्थी संगठनहरुले कुरै नबुझी आन्दोलन गर्छौं मात्रै भनेर हुन्छ ?”
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कवृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कारबाही गर्नुपर्ने माग गरे । प्याब्सनका अध्यक्षले निर्देशिका पालना गरेको दाबी गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष तामाङले निजी विद्यालयले मनोमानी रुपमा शुल्कवृद्धि गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्