Logo

१५ प्रतिशत मृत्युको कारण संक्रमण

बढ्दो अस्पतालजन्य संक्रमण नियन्त्रण गर्न नसक्दा बिरामी, अस्पताल र सरकारको स्वास्थ्य क्षेत्रमा लगानी बढ्दै गइरहेको देखिएको छ । गम्भीर प्रकृतिका रोगको उपचारमा गएका बिरामीको शल्यक्रिया सफल भए पनि संक्रमणका कारण मृत्यु हुनेको संख्या डरलाग्दो रहेको विज्ञहरुले बताएका छन् ।
संक्रमण नियन्त्रणमा ठोस नीतिगत व्यवस्था गर्न नसक्दा बिरामी, अस्पताल र सरकारको स्वास्थ्य क्षेत्रमा गर्ने लगानी बढेको पाइन्छ । अस्पताल भर्ना भएर शल्यक्रिया र अन्य उपचार विधिमा सफलता पाएका मध्ये पनि १५ प्रतिशत बिरामी संक्रमणकै कारण मृत्युको मुखमा पुग्ने गरेको देखिएको छ । अस्पताल परिसर, अपरेसन कक्ष र पोस्ट अपरेसन कक्षमा उचित सरसफाइ र जिवाणु न्यूनीकरण गर्न नसक्ने अवस्थामा रहेका अस्पतालका १५ प्रतिशत बिरामी रोग निको हुने चरणमा प्रवेश गरिरहेका बेला संक्रमण हुने र त्यसमध्ये ५ प्रतिशतको मृत्यु हुने गरेको देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अध्ययनअनुसार विकसित राष्ट्रमा संक्रमणका कारण मृत्यु हुने बिरामीको संख्या ७ प्रतिशत रहेकोमा नेपालजस्तो अविकसित देशमा संक्रमणको मृत्युदर १० प्रतिशत छ ।
बिहीबार नेपाल रोटरी क्लब डिस्ट्रिक ३२९२, भुटान रोटरी, जापान रोटरी, दरबारमार्ग रोटरी र गंगालाल हृदयरोग अस्पतालले आयोजना गरेको कार्यक्रमका अस्पतालजन्य संक्रमण गम्भिर हुदैं  गएको जनाइएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सो अस्पतालजन्य संक्रमण नियन्त्रण विषयक कार्यक्रममा सहभागी विज्ञले नेपालमा अस्पतालजन्य संक्रमण रोक्ने नीतिगत सुधार गरी कार्यन्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।
सो अवसरमा रोटरी क्लब अफ दरबारमार्गका अध्यक्ष डा. राजेन्द्र बरालले अस्पतालजन्य संक्रमण रोक्न राष्ट्रियस्तरमा अस्पताल संक्रमण नियन्त्रण कमिटी गठन गर्नुपर्ने सुझाव दिए । अस्पतालमा नियमित रुपमा अनुगमन गरी नर्स, बिरामी कुरुवा, भेटघाट गर्ने मान्छे, डाक्टर र कर्मचारीले होशियारी गर्न जनचेतना र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
मृगौला, क्यान्सर, ठूला अपरेसन र प्रसूति क्षेत्रमा संक्रमण हुने सम्भावना बढी भएकाले सो क्षेत्रमा बढी ध्यान दिनुपर्ने विज्ञले सुझाव दिएका छन् । सहभागी स्वास्थ्य क्षेत्रका विज्ञले स्वास्थ्य मन्त्रालयले संक्रमणबाट हुने मृत्यु नियन्त्रण गर्न यसमा आवश्यक पर्ने नीतिगत व्यवस्थाको काम गरी कडाइका साथ लागू गर्न सुझाव दिएका छन् । कार्यक्रममा सहभागी भएका जापानका स्वास्थ्य विशेषज्ञले संक्रमणका घटना हुन नदिन सरकार, समुदाय, अस्पताल प्रशासन र सरोकारवालाको सहयोग लिएर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । असपतालजन्य संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले स्थानीय तहसम्म नै कार्यक्रम सञ्चालन गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् ।
अस्पतालजन्य संक्रमण कुरुवा, स्वास्थ्यकर्मी र आफन्तले नै गम्भिर प्रकारका बिरामीलाई संक्रमित गराउने सम्भावना रहने बताइएको छ । यसको नियन्त्रणका लागि अस्पतालमा अव्यवस्थित तथा स्वस्थ वातवरण, सुरक्षित उपचार पद्धति, सुविधासम्पन्न र सफा भौतिक संरचनामा ध्यान दिनुपर्ने बताइएको छ । १४ देशका ५५ वटा अस्पतालमा गरिएको अनुसन्धानले अस्पतालमा भर्ना भएका बिरामीहरूमा अस्पतालजन्य संक्रमणको दर ८.७ प्रतिशत पाइएको देखाएको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्