पोखरेली कलाकारको काठमाडौंमा कला प्रदर्शनी

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिद्वारा आयोजित पोखरेली कलाकारको स्थलगत कला कार्यशालामा कोरिएका कलाकृतिको प्रदर्शनी काठमाडौंस्थित हायात रिजेन्सीमा रहेको तारागाउँ संग्रहालयमा सुरु भएको छ । प्राज्ञ नगेन सिंह, वरिष्ठ कलाकारद्वय क्षेत्रलाल कायस्थ र आलोक गुरुङद्वारा सिर्जना गरिएका एक्लेरिक, मिक्स मिडिया, तेल र पानी रंगद्वारा निर्मित ११ इन्च-२५इन्च देखि ७-१५ फिटसम्म आकारका ४५ वटा कलाकृतिहरुको मूल्य ९ हजारदेखि एक लाख रुपैयाँसम्म तोकिएको छ ।
कलाकृतिको प्रदर्शनी शुभारम्भ गर्दै अन्नपूर्ण काठमाडौं समाज नेपालका अध्यक्ष मनप्रसाद गुरुङले कलाकृतिका माध्यमबाट अन्नपूर्ण पदयात्रा मार्गको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । समाजका उपाध्यक्ष झलकराम अधिकारीले समग्र अन्नपूर्ण क्षेत्रको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धनमा चित्रकलाका माध्यमबाट गरिएको प्रचार दिगो र चिरस्थायी हुने बताए ।
अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले विश्वको उत्कृष्ट पदयात्रा मार्गलाई कला कार्यशाला र यो प्रदर्शनीले कलाको माध्यमबाट अझ सशक्त जीवन्त क्यानभासमा उतार्ने कलाकारहरुको कर्मले नेपालमा छिटै ललितकला डाइमण्ड युग आउने विश्वास व्यक्त गरे ।
प्राज्ञ नगेन सिंहले कला जगतलाई प्रत्येक घर, पसल र कार्यालयमा पु¥याउनु पर्ने बताउँदै ललितकलाले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने सन्देश यो प्रदर्शनीले दिने बताए । प्रदर्शनी वैशाख २४ गतेसम्म चल्नेछ ।