‘व्यापार प्रवद्र्धनमा सरकारी नीति नै बाधक’

गी व्यवसायीहरूले सरकारका अव्यावहारिक, झन्झटिला र व्यवसायमैत्री नीतिको अभावमा व्यापार फस्टाउन नसकेको गुनासो गरेका छन् । साथै उनीहरूले व्यवसाय दर्ता र नवीकरण प्रक्रिया तथा भन्सार र वाणिज्य नीतिहरू ज्यादै अव्यावहारिक र झन्झटिला भएकाले व्यवसायीको हितमा बनाउनुपर्ने मागसमेत गरेका छन् ।
उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवाको अञ्चलपुरमा आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाका सन्दर्भमा आयोजना गरेको व्यापारसम्बन्धी अन्तरक्रियामा सरोकारवालाले यस्तो माग गरेका हुन् ।
सो कार्यक्रममा बोल्दै वाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रकाश उपाध्यायले दर्ता, नवीकरण र जरिवानासम्बन्धी सरकारी नीति नियममा रहेका अव्यावहारिक नीति र झमेलाले व्यवसायीहरू निरुत्साहित हुने गरेको स्वीकार गर्दै कमीकमजोरीहरू सच्याउन जरुरी रहेको बताए । उनले भारतसँगको खुला सीमाका कारण पनि ठूलो परिमाणमा सामानहरू पूजाआजा, विवाह आदि घरायसी प्रयोजनका नाममा विना भन्सार भित्रिने गर्दा स्वदेशी व्यवसायीहरू सधैं मारमा परेको बताउँदै खुला सीमा व्यवस्थित गर्न आवश्यक रहेकोमा जोड दिए ।
कैयौं सामानहरू भारतीय बजारमा भन्दा नेपाली बजारमै सस्तो र गुणस्तरीय हुँदाहुँदै उपभोक्ताहरू भ्रममा परेर सीमा पारी गएर खरिद गर्ने परिपाटी रहेकाले यस्तो परिपाटीको अन्त्यका लागि प्रभावकारी नीति बनाउनुपर्ने खाँचो औंल्याए । नेपालमा सस्तो पाइने सामानहरू भारतीय बजारमा गएर खरिद गर्ने परिपाटी रोक्न निजी क्षेत्र र सरकारी निकायले आम उपभोक्तामा जनचेतना फैलाउन पनि आवश्यक रहेको उपाध्यायले औंल्याए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले गौतमबुद्ध विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र बेलहिया नाकाका कारण भैरहवा क्षेत्र व्यापारिक केन्द्र बन्न सक्ने आधारहरू रहे पनि सरकारी नीति व्यवसायीमैत्री नहुँदा व्यवसाय फस्टाउन नसकेको गुनासो गरे ।
व्यापार प्रवद्र्धन र व्यवसायीको उत्थान गर्ने खालका राज्यका नीति नियमहरू नभएको गुनासो गर्दै व्यवसायीमैत्री नीति बनाउन उनले माग गरे ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले खुला सीमा, भन्सार र वाणिज्य नीतिमा रहेका असहजता, कमी–कमजोरी आदिका कारण स्थानीय व्यवसायीहरू मारमा परेको र सीमापारीको बजार सधैं गुल्जार हुने गरेको गुनासो गरे ।
चिनीलगायत एकाध वस्तु सस्तो पाइने लोभमा नेपाली उपभोक्ताहरू ठूलो संख्यामा सीमा पारी गएर नेपालमै सस्तो पाइने दर्जनौं वस्तुहरू खरिद गरेर ल्याउने परिपाटी रोक्न सरकारले बाध्यकारी नीति बनाउनुपर्ने र संक्षिप्त प्रज्ञापनपत्रलाई कडाइका साथ लागू गर्नुपर्ने खाँचो उनले औंैल्याए ।
सरकारले स्वदेशी उत्पादन र स्थानीय बजारको प्रवद्र्धन गर्ने नीति नियम बनाउनुपर्ने माग गर्दै अध्यक्ष भण्डारीले आफ्नो संगठनको मूल उद्देश्य नै स्वाधीन अर्थतन्त्र निर्माण, स्थानीय बजारको प्रवद्र्धन र ब्यापार विविधीकरण रहेको प्रष्ट पारे ।
व्यापार, कृषि, उद्योग र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित संगठनले एक वर्ष बिराएर राष्ट्रियस्तरको औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव आयोजना गर्ने गरेको उल्लेख गर्दै उनले सरकारले स्थायी मेलास्थल उपलब्ध गराउनुपर्ने माग गरे ।
संगठनका उपाध्यक्ष गिरिश त्रिपाठीले व्यवसायीमाथि लगाइने जरिवाना रकम व्यवसायीको ढाड सेक्ने खालको चर्को भएकाले घटाउन र अनुगमनका नाममा अनावश्यक दुःख नदिन माग गरे । उनले बैंकहरूले लिने चर्को ब्याजदर पनि एक प्रकारको कालो बजारी नै भएकाले उद्योग व्यवसायमा सुलभ दरमा कर्जा दिन माग गरे ।
संगठनका सचिव दर्पण श्रेष्ठले बजार अनुगमनलाई वर्षभरि नै निरन्तरता दिन आग्रह गर्दै यसले उपभोक्ता ठगिनबाट जोगिने र व्यवसायमा शुद्धता आउने धारणा राखे ।
राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि औद्योगिकरण तथा ब्यापार विविधिकरण नारासहित उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलामा व्यापार, उद्योग, कृषि र पर्यटनका करिब चार सय स्टल छन् ।
मंसिर ११ गतेसम्म चल्ने मेलामा लोपोन्मुख राउटे जाति, उट नाच, कुस्ती खेल, नयाँ उत्पादन, प्रविधि, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कृषि प्याभिलियन, अटोमोबाइल्स प्याभिलियन, सूचना प्रविधि प्याभिलियन आदि आकर्षणको रूपमा छन् ।