जनता आवास कार्यक्रम, बनेन गरिबको घर «

जनता आवास कार्यक्रम, बनेन गरिबको घर

जनता आवास कार्यक्रममार्फत रोल्पामा गत दुई वर्ष अघिदेखि निर्माण कार्य सुरु गरिएको गन्धर्व समुदायको घर अहिलेसम्म पनि बन्न सकेको छैन ।
घर निर्माणको जिम्मा पाएका ठेकेदारको लापरबाहीका कारण घर निर्माणकार्य अलपत्र हुँदा गन्धर्व समुदाय विचल्लीमा परेका छन् । दुई वर्षअघि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि हर्षित बनेका रोल्पा सुवर्णावती गाउँपालिका–१ घोडागाउँका गन्धर्वहरू अहिले भने निराश बनेका छन् । अतिविपन्न गन्धर्व परिवारका लागि जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि भएका सानोतिनो छाप्रो पनि भत्काएका गन्धर्व परिवार अहिले विचल्लीमा परेका हुन् । नयाँ घर निर्माणकार्य सुरु गरेको केही समयमै निर्माणको जिम्मा पाएको ठेकेदारले बीचमै काम छाडेर गएपछि नयाँ घरमा बस्ने उनीहरूको सपना अधुरो भएको हो । कहाँ खाने, कहाँ बस्ने हाम्रो विचल्ली भयो स्थानीय कृष्णी गन्धर्वले भनिन् । झरीमा हामी गरिबहरू कहाँ बस्ने । अहिले कहाँ खाने, कहाँ बस्ने भन्ने चिन्ता भएको छ ।
१९ लाख ५० हजारमा १० वटा घर निर्माण गर्ने गरी निर्माणकार्यको जिम्मा पनि लाभग्राही उपभोक्तालाई नै दिइएको भवन डिभिजन कार्यालय रोल्पाले जनाएको छ । तर उपभोक्ताहरूले भने स्थानीय ठेकेदारलाई निर्माणकार्यको जिम्मा दिँदा अहिले यस्तो समस्या उत्पन्न भएको भवन डिभिजन कार्यालय रोल्पाका डिभिजन प्रमुख इश्वरराज जोशीको भनाइ छ । “उहाँहरूकै कारणले निर्माणकार्य ढिला भएको छ,” जोशीले भने, “हामीले त समय समयमा उहाँहरूलाई पैसा पनि दिएकै छौं ।”
कार्यक्रम सञ्चालन भएदेखि डिभिजन कार्यालयले पनि फर्केर नहेरेका कारण आफूहरूको घर निर्माणकार्य अलपत्र परेको स्थानीयको गुनासो छ । घर निर्माणको जिम्मा लिएका ठेकेदारलाई समयमै काम सम्पन्न गर्न भवन डिभिजिन कार्यालय रोल्पाले ताकेता गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्