राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसीको एकीकृत कारोबार सुरु «

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसीको एकीकृत कारोबार सुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेड गाभिई एकीकृत कारोबार सुरु भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार राजधानीमा आयोजित कार्यक्रममा एकीकृत कारोबार शुभारम्भ गरेका छन् ।
कार्यक्रममा खतिवडाले वित्तीय प्रणालीमा चक्रिय संकट आइरहने र त्यसबाट बच्न रणनीतिक उपायहरू अपनाउनुपर्ने बताए । उनले वित्तीय प्रणालीमा हुने अपराध असह्य हुने र गलत कार्य गरेमा सरकारले कसैलाई प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा एनआईडीसी डेभलपमण्ट बैंक लिमिटेड गाभिए पछि बैंक वित्तीय रूपमा थप बलियो र प्रतिस्पर्धी हुनुपर्ने उनको सुझाव थियो ।
समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी बैंक भएकाले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रूपमा कार्य गर्नुपर्ने बताए । बैंक सञ्चालक समितिका सभापति डा.रवीन्द्रप्रसाद पाण्डेले बैंकलाई नयाँ पुस्ताको आकर्षणको केन्द्र बनाउन सक्नु प्रमुख चुनौती भएको धारणा राखे । रावा बैंकका सञ्चालक एवं सयुक्त सर्जर समितिका संयोजक निर्मलहरि अधिकारीले मर्जरको सुरुवातदेखि हालसम्म भएका सम्पूर्ण गतिविधिका विषयमा विस्तृत जानकारी गराएका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको मर्जरपछि बैंकको १ सय ९१ वटा शाखा कार्यालय, चुक्ता पुँजी ९ अर्ब ४७ लाख, ९५ हजार ७ सय, रहने बताए । यस्तै, जगेडा तथा कोषमा ८ अर्ब ३० करोड ५६ लाख ९९ हजार रहेको र कुल सम्पत्ति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख ४६ हजार तथा कुल निक्षेप १ खर्ब ५४ अर्ब १७ करोड ६३ लाख ४२ हजार छ । कर्जा तथा सापट १ खर्ब, १५ अर्ब ७३ करोड ९ लाख ८७ हजार र खुद नाफा ३ अर्ब १२ करोड ६४ लाख ७९ हजार हुनेछ । दुवै संस्था एक आपसमा गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक वृद्धि हुने, बैंकको पुँजीकोष वृद्धि हुन गई बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान दिँदै आगामी दिनमा सबल र सक्षम बैंक बन्ने, सम्पत्तिमा वृद्धि हुने, व्यवसायको आकार बढ्ने धारणा राखे । यस्तै, ग्राहकलाई अझ विस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने, सञ्चालन लागत घट्न जाने, नेपाल सरकारलाई प्रतिफल दिन सक्ने, वित्तीय पहँुचमा वृद्धि हुनुको साथै संस्थागत सुशासनमा अभिवृद्धि भई समग्र बैंकिङ तथा वित्तीय प्रणालीको सम्बद्र्धन र सोप्रति सर्वसाधारणको विश्वसनीयतामा समेत अभिवृद्धि हुन जाने विश्वास लिएको उनको भनाइ छ । “सरकारका नीति तथा कार्यक्रम लागू गर्न थप सहयोग पुग्नुका साथै देशमा उत्पादनमूलक, रोजगारमूलक, सेवामूलक एवं भौतिक पूर्वाधारका क्षेत्रहरूमा समेत लगानी गर्न सबल र सक्षम वाणिज्य बैंकका रूपमा देशको समग्र आर्थिक सामाजिक विकास एवं वित्तीय प्रणालीमा सकारात्मक प्रभाव पार्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न बैंक सफल भई सरकारको आर्थिक समृद्धि प्राप्त हुने कार्यमा सहयोग पुग्ने विश्वास लिएका छौं,” उनले भने ।
सरकारले २०७३ माघ १४ गते एनआईडीसी डेभलपमेन्ट बैंक लिमिटेडलाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा गाभ्ने निर्णय गरेको थियो । २०१६ असार १ गते देशको औद्योगिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ विशेष ऐनअन्तर्गत यो स्थापना भएको हो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव राजन खनाल, सञ्चार सचिव एवं बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ, राजस्व सचिव शिशिरकुमार ढुंगानालगायत सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्