Logo

सेयर बजारमा सुधार

सेयर बजारमा ३ अंकभन्दा धेरैको सुधार आएको छ । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार परिसूचक मंगलबार बढेको हो । मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बढेको भए पनि कारोबार रकममा भने गिरावट आएको छ । नेप्से परिसूचक ३ अंकभन्दा धेरैले बढेको भए पनि कारोबार रकम भने ३५ करोडमा सीमित छ ।
सेयर बजार धितोपत्रको आपूर्ति अधिक भए पनि बजार नकारात्मक हुँदै आएको थियो । कारोबार सुरुदेखि घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक करिब मध्ये समयपछि मात्र सुधारको गतिमा देखिएको हो । मध्ये समयपछि आएको सुधारको गति बन्द हुँदासम्म कायम रह्यो ।
मंगलबार कारोबार सुरु हुँदा १४६९.१६ अंकमा रहेको नेप्से परिसूचक ३.०८ अंकले बढेर बन्द हुँदा १४७२.२४ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि करिब एक अंकले बढेको छ ।
नेप्सेमा कारोबार भएका वाणिज्य बैंक, बिमा तथा माइक्रोफाइनान्स कम्पनीहरूको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजार सूचकमा परेको हो । मंगलबार कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.४९, बिमा १४.९५, जलविद्युत् ६.६५, होटल ९.०५, माइक्रोफाइनान्स ३.२९ र ब्यापार १५.६२ अंकले बढेका छन् । तर, विकास बैंक ३.२३, वित्त २.२९, उत्पादनमूलक १४.९४, र अन्य समूह भने ५.५ अंकले घटेका छन् ।
मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा १५९ कम्पनी ४ हजार २ सय ९० कारोबारबाट ३५ करोड ८ लाख रुपैयाँ बराबरको ८ लाख ४२ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा थोरै हो ।

प्रतिक्रिया दिनुहोस्