क्याम्पस भवन प्रयोगविहीन

रुकुम पश्चिम चौरजहारी नगरपालिकामा रहेको जहारी क्याम्पसका दुईवटा भवन निर्माण सम्पन्न भएदेखि नै प्रयोगविहीन भएका छन् । २०७० सालमा विश्वविद्यालय अनुदान आयोगको २७ लाख ५० हजार रुपैयाँमा निर्माण भएका उक्त भवन ५ वर्ष बितिसक्दा पनि प्रयोगविहीन भएका हुन् । लामो समयदेखि भवन प्रयोगविहीन भएपछि दिन प्रतिदिन जीर्ण पनि बन्दै गएका छन् ।
क्याम्पसले शिक्षा संकाय र विज्ञान संकाय गरी दुई ठाउँमा सञ्चालन गर्ने उद्देश्यका साथ नगरपालिका–१० को चिन्नेबगर र वडा नम्बर ११ को टाटामा निर्माण गरेको थियो । टाटामा निर्माण भएको भवन हाल क्याम्पसले प्रयोगमा ल्याए पनि चिन्नेबगरमा निर्माण भएको दुई भवन भने प्रयोगविहीन भएका छन् । क्याम्पसले अध्ययन गराउँदै आएको विज्ञान संकाय नै हटेपछि चिन्नेबगरमा निर्माण भएका भवन प्रयोगमा ल्याउन नसकेको जहारी क्याम्पस प्रमुख सुदर्शन शाहले बताए । “हामीले शिक्षा र विज्ञान संकाय एक÷एक ठाउँमा सञ्चालन गर्ने भनेर भवन निर्माण गरेका हौं,” उनले भने, “विज्ञान संकायमा भर्ना हुन विद्यार्थी नआएपछि विज्ञान संकाय खारेज भएकाले चिन्नेबगरमा बनेका दुई भवन प्रयोगमा ल्याउन सकेका छैनौं ।”