Logo

बजेटबारे सुझाव माग्दै मन्त्री नै जिल्लामा

दोलखा-प्रदेश नं. ३ को नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्ष ०७५-७६ को बजेट तयारीको छलफल गर्न आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल दोलखा पुगेका छन् । मन्त्री ढुंगेलले बुधबार दोलखाका ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, विषयगत कार्यालयका कर्मचारीहरूलाई समेत राखेर बजेटको छलफल गरे ।
मन्त्री ढुंगेलले स्वरोजगारमूलक र चुनावी घोषणापत्रलाई आधार बनाएर बजेट तयार गर्ने बताए । उनले स्थानीय तहले गर्न नसक्ने योजना प्रदेश सरकारले समेट्नेसमेत जानकारी दिए । युवा स्वरोजगारका लागि घरायसी सामान मर्मत गर्ने र कपाल काट्ने जस्ता पेशा गर्ने युवालाई प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीसहित प्रदेशका सबै मन्त्रालयका प्रतिनिधिसहित दोलखा आएका मन्त्री ढुंगेलले प्रदेशको पहिलो अभ्यास भएकाले स्वयम् जिल्ला जिल्लामा आएको बताए । उनले स्थानीय र नागरिक समाजका प्रतिनिधिहरूबाट आगामी बजेटमा समेट्ने विषयको सुझावसमेत लिए ।
आर्थिक मामिला मन्त्रालयका सचिव अधिकारीले सबै स्थानीय तहले प्रदेश बजेटमा समावेश गर्नुपर्ने योजना वैशाख ३१ गतेभित्र पेस गर्न निर्देशन दिए । प्रदेश मन्त्रालयले अरु प्रदेशभन्दा अनुशासित बजेट ल्याउने भन्दै उनले प्रदेशस्तरका गौरवका योजनासमेत बन्ने बताए । चालू आर्थिक वर्षमा मन्त्रालयले चालूतर्फको बजेट मात्र ल्याएकाले विकासे योजनाको काम नहुने उनको भनाइ थियो ।
प्रदेशसभा सांसद विशाल खड्काले प्रदेशका मन्त्रीहरू आफैं योजना लिनका लागि जिल्ला जिल्ला आउनु नै गाउँगाउँमा सिंहदरबार आए जस्तै भएको बताए । उनले छिमेकी जिल्लासमेत जोड्ने गरी प्रदेशस्तरका योजनामा समेट्न सुझाव दिए ।
नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले उत्तर–दक्षिण लोकमार्गको लामाबगर–तिब्बत सिमाना जोड्ने सडक खोल्न, बन्द म्याग्नेसाइट उद्योग सुचारु गर्न माग गरे । पूर्वमन्त्री आनन्द पोखरेलले प्रदेश नम्बर ३ को आर्थिक विकासका लागि पर्यटन, कृषि, जलविद्युत्को विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा ९ वटै स्थानीय तहका प्रमुखले आ–आफ्नो स्थानीय तहले प्रदेश बजेटमा समेट्नुपर्ने योजनाका लागि माग गरे ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्