असिनापानीले स्याउमा ठूलो क्षति

जुम्ला- जुम्लामा भारी मात्रामा परेको असिनापानीले स्याउखेतीमा ठूलो क्षति भएको छ । किसानले लगाएको स्याउमा भर्खरै चिचिला लागेका बेला परेको असिनापानीले ठूलो क्षति पुर्याएको हो । यसले किसानलाई चिन्तित पारेको छ ।
पातारासी गाउँपालिका–४ का मीनबहादुर बुढाको स्याउ बगैंचामा रहेका सबै ९० वटै रूखमा भर्खर लागेका चिचिला सखाप भएको बताए । “हावाहुरीसँगै आएको असिनापानीले वर्षभरीको दुःख खेर गरेको छ,” उनले भक्कानिँदै भने, “विकटका किसानलाई यस वर्ष प्रकृतिले पनि नराम्रोसँग ठग्यो ।” उनले आफ्नो बगैंचा पूरै रित्तिएको बताए ।
सोमबार साँझ परेको असिनापानीले मीनबहादुर बूढाको जस्तै जुम्लाका अधिकांश किसानको स्याउ खेतीमा ठूलो नोक्सानी पु¥याएको छ । “असिनाले फल र पात झारेको नाङ्गो विरुवामा हेर्दा साह्रै दुःख लाग्छ,” स्थानीय तारा बोहोराले भने, “सरोकारवाला निकायबाट राहतको अपेक्षा गरेको छु, राहत नपाए यो वर्ष पेट पाल्न महंगो ब्याजमा ऋण लिनुको विकल्प छैन ।” स्याउ खेतीमै आश्रित समुदायलाई यस वर्ष पेट पाल्नै धौधौ हुने अवस्था आएको कृषि विज्ञहरूले बताएका छन् ।
असिनापानीले स्याउसँगै आरु, ओखर, खुरपानीलगायतका सबै फलफूलका विरुवाको फूल र दाना झारेको छ भने मकै, आलु र गँहुबाली पनि नष्ट गरेको छ ।
उत्पादन घट्ने अनुमान
पातारासी गाउँपालिकाका कृषि संयोजक लक्षीराम महतले असिनापानी कारण जुम्लाको स्याउबालीमा ९५ प्रतिशत क्षति पुगेको बताए । “असिनाले भर्खर फूल्दै गरेका फलफूलका सबै फूल र दाना झारेर नष्ट पारेको छ,” उनले भने, “जिल्लामा स्याउको उत्पादन पाँच प्रतिशतमा झर्न सक्ने आँकलन गरिएको छ ।” फलफूलका विरुवाको बिमा गरेका कृषकले राहात पाउलान् तर बिमा नगरेका कृषक भने निकै मर्कामा परेको उनले बताए ।
गत वर्ष जुम्लामा झन्डै १६ टन स्याउ उत्पादन भएको थियो । तर यो वर्ष निकै कम उत्पादन हुन सक्ने कृषि संयोजक महतले बताए । जुम्लामा उत्पादन हुने स्याउको झन्डै २५ प्रतिशत पातारासी क्षेत्रमा उत्पादन हुन्छ ।
गाउँपालिकाको कार्यालयका अनुसार यस वर्ष दैवीप्रकोपका क्षेत्रमा बजेट विनियोजन नभएकाले कृषकलाई राहात उपलब्ध गर्न सकिने अवस्था छैन । गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले भने, “अब कृषि बिमातर्फ सबै किसानलाई आकर्षित गर्नुपर्छ ।” स्याउको आम्दानीबाटै जिविकोपार्जन गर्दै आएका पातारासी–४ का स्याउ कृषक पूर्ण बोहोराले असिनाले स्याउबाली नष्ट पारेपछि अब परिवार पाल्न कालापहाड जानुुको विकल्प नरहेको बताए । “मैलै लगाएको ८० वटा विरुवा फल्थ्यो, त्यसैको आम्दानीबाट वर्षभरी छोराछोरीको पढाई र घरखर्च चलाउथें,” उनले भने ।