जुम्लामा सरकारी सवारीसाधन दुरुपयोग

जुम्ला-जुम्लामा पछिल्लो समय सरकारी सवारीसाधनको दुरुपयोग बढ्दै गएपछि प्रहरीले ६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । मंगलबार सार्वजनिक बिदाको दिनमा मोटरसाईकल लिएर मेला हेर्न गएका करिब दुई दर्जनजति सरकारी मोटरसाईकलमध्ये ६ वटा प्रहरीले नियन्त्रणमा लिएको हो ।
वैशाख १३ गतेदेखि सञ्चालनमा रहेको प्रादेशिक औद्योगिक व्यापार मेला हेर्न सार्वजनिक बिदाको दिनमा पनि दिनहुँ सरकारी सवारी साधनको प्रयोग हुन थालेपछि प्रहरीले मंगलबार छापा हान्दा ६ वटा मोटरसाइकल फेला पारेको हो ।
जिल्ला ट्राफिक कार्यालयका प्रमुख हवल्दार हिरालाल सार्कीका अनुसार प्रहरीको टोली तत्काल मेलामा पुग्दा ६ वटा मोटरसाइकल भेटिएका हुन् । “हाम्रो टोली पुग्दा ६ वटामात्र भेटायौ, अरु भागेछन् । भेटिएका मोटरसाईकल नियन्त्रण लिएर कारवाही अगाडि बढाइने छ,” उनले भने, “विदाको दिन प्रशासनको अनुमति विना सञ्चालन हुने सरकारी सवारी साधन कारबाहीमा पर्छन् ।”
यसअघि जिल्ला प्रशासनले बारम्बार सार्वजनिक सूचना प्रकाशन, प्रशारण गर्दा पनि बिदाको दिन सरकारी सवारी साधन जथाभावी, मनपरी ढंगले प्रयोग हुँदै आएका छन् । जुम्लाका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले नै सरकारी सवारीको दुरुपयोग गर्दै आएका हुन् ।
प्रहरीले मंगलबार नियन्त्रणमा लिएका मोटरसाइल क १ ब ४६, क १ ब ४०, क १ ब १०, क १ ब ६३, बा २ ब ४३५९ र बा १ ब ६३०२ नम्बरका हुन् । तर कार्यालय भने खुलाइएको छैन ।
जिल्लाका सरकारी कार्यालयदेखि सबै स्थानीय तहले मोटरसाइकल खरिद गरेका छन् । सार्वजनिक बिदाको दिनदेखि मेला, पर्वमा यसरी सरकारी सवारीको दुरुपयोग बढ्दै गएको स्थानीयको गुनासो छ ।
यतिबेला जिल्ला प्रशासन कार्यालय जुम्ला सरकारी गाडीको दुरुपयोग रोक्न अग्रसर भएको छ । प्रशासनले सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग नगर्न निर्देशन दिएको छ । सरकारी कामका लागि प्रयोग गर्नुपर्ने अवस्था भए अनुमतिपत्र अर्थात् पास बनाउन भनेको छ ।