फेसबुक लाई चुनौती दिदैं एसियाली प्रबिधि कम्पनी «

फेसबुक लाई चुनौती दिदैं एसियाली प्रबिधि कम्पनी

सोमबार टेनसेन्टको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । सेयर मूल्य उकालो लागेसँगै कम्पनीको मूल्य पनि ५ सय अर्ब डलरभन्दा माथि पुगेको छ ।
कीर्तिमानी मूल्यांकनमा पुगेको प्रविधि कम्पनी चीनको पहिलो कम्पनी हो । अब टेनसेन्टको बजार मूल्य फेसबुक र अमेजनको नजिकै पुगेको छ ।
हङकङमा सूचीकृत भएको प्रविधि कम्पनी विच्याट मेसेजिङ एप र अनलाइन गेमका लागि परिचित हुँदै आएको छ । सोमबार कम्पनीको सेयर ४२० हङकङ डलर अर्थात् ५३.७६ अमेरिकी डलर पुगेको छ । कम्पनीको बजार पुँजीकरण तथा कुल मूल्य ३.९९ ट्रिलियन हङकङ डलर अर्थात् ५१०.७ अर्ब अमेरिकी डलर कायम भएको छ ।
टेनसेन्टको बजार पुँजीकरण चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाको भन्दा माथि पुगेको छ । अलिबाबाको बजार पुँजीकरण ४७४.१५ अर्ब अमेरिकी डलर छ भने बैदुको ८२.९७ अर्ब अमेरिकी डलर छ ।
यो कम्पनी हाल अमेरिकी प्रविधि कम्पनी फेसबुकको हाराहारीमा पुगेको छ । फेसबुकको बजार पुँजीकरण हाल ५२०.१४ अर्ब अमेरिकी डलर छ । यसैगरी अमेजन ५४४.४६ अर्ब अमेरिकी डलरको मूल्यमा छ ।
टेनसेन्ट २००४ मा हङकङमा सार्वजनिक कम्पनीका रूपमा गएको थियो । उक्त समयमा कम्पनीको सेयर मूल्य ३.७० हङकङ डलर थियो । त्यसयताको समयमा कम्पनीको सेयर मूल्यमा ११२.५१ प्रतिशतले वृद्धि भइसकेको छ । टेनसेन्टको सेयर यो वर्ष मात्रै १२१.४ प्रतिशतले वृद्धि भइसकेको छ ।
कम्पनीको आम्दानीमा भएको लगातारको वृद्धिले सेयर मूल्य उकालो लागेको हो । बृहत् प्रयोगकर्ताको आधार र नयाँ क्षेत्रमा भएको लगानीले कम्पनीको आम्दानीमा पनि वृद्धि भएको हो । गत साता कम्पनीले वार्षिक मापनका आधारमा तेस्रो त्रैमासिक अवधिको खुद नाफामा ६७ प्रतिशतले वृद्धि भएको जनाएको थियो । यो अनपेक्षित बढी हो । टेनसेन्टको प्रमुख लोकप्रिय उत्पादनमध्ये मेसेजिङ एप विच्याट हो । यसका प्रयोगकर्ताको संख्या हाल १ अर्ब पुगेको छ ।
कम्पनीको मुख्य व्यवसायका रूपमा अनलाइन र मोबाइल गेम रहेको छ । यो विभागले गत त्रैमासिक अवधिमा मात्रै ४ अर्ब डलरको आम्दानी गरेको थियो । गत वर्ष टेनसेन्टले फिनिस स्मार्टफोन निर्माता सुपरसेलको बहुसंख्यक हिस्सा लिएको थियो ।
व्यवसायको अन्य तीव्र वृद्धिको क्षेत्र भनेको डिजिटल विषयवस्तुजस्तै भिडियो हो । यसका साथै अनलाइन विज्ञापन पनि कम्पनीको व्यवसायको महŒवपूर्ण अंश रहेको छ ।

प्रतिक्रिया दिनुहोस्