कानुनविपरित यार्सा टिप्ने ४९ पक्राउ

डोल्पाका पाटन नखुल्दै अवैधरुपमा यार्चागुम्वा संकलन गर्न गएका झण्डै ४९ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्तीले पक्राउ गरेको छ । जगदुल्ला गाउँपालिकाको जगदुल्ला पाटन पुगेका ११ जना महिलासहित ४९ जनालाई सोमबार पक्राउ गरिएको भएपनि उनीहरुको नामचाहिँ सार्वजनिक गरिएको छैन । निकुञ्जले दिएको जानकारीअनुसार ५१ जनालाई पक्राउ गरिएकोमा २ जना भागेकाले ४९ जना नियन्त्रणमा छन् । पक्राउ गरिएका सबै डोल्पा बाहिरका रहेका निकुञ्जले जानकारी दिएको छ ।
यार्सगुम्वा संकलनका लागि कानुनीरुपमा पाटन खुला नहुँदै अवैधरुपमा संकलन गर्न गएका संकलनकर्ताहरुलाई गाउंपालिका, मध्यवर्ति सामुदायिक वन उपभोक्ता समिति र स्थानीयको सहयोगमा राष्ट्रिय निकुञ्ज र त्यसको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले सोेमवार राति ११.३० बजेतिर पक्राउ गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए । उनले जेठ १ गतेबाट यार्सा संकलनका लागि पाटन खुल्ला गरिनेछ ।
यसअघि पनि गत १० गते अवैधरुपमा यार्सा टिप्न कागमारा पाटन पुगेका ७ जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका व्यक्तिहरुको अनुसन्धान भइरहेको अधिकृत चौधरीले बताए । पक्राउ परेकाहरुलाई अनुसन्धान गरी नियमानुसार कार्वाही गरिनेछ ।