रुपैडिहा–कोहलपुर रेल विस्तार हुने «

रुपैडिहा–कोहलपुर रेल विस्तार हुने

भारतको रुपैडिहादेखि नेपालको बाँकेको कोहलपुरसम्म १६ किलोमिटर विस्तार गर्ने भनिएको रेल लाइन विस्तारको प्रारम्भिक नक्सा तयार गरिएको छ ।
भारतको पूर्वोत्तर रेल्वे गोरखपुरबाट खटिएको आरके टेक्नो कन्सल्टेन्सिका प्राविधिक टोलीका इन्जिनियर सन्तोष त्रिपाठीसहितको प्राविधिकको टोलीले गत फागुन ३० देखि चैतको दोस्रो सातासम्म रेल्वे लाइन विस्तारका लागि सर्भेको काम सकेर नक्सा तयार पारेका हुन् । सर्भे टोलीले तयार पारेको सो प्रारम्भिक नक्सा नेपाललाई बुझाइएको भारतीय अधिकारीहरूले जनाएका छन् ।
सर्भे टोलीले सीमावर्ती रुपैडिहादेखि बाँकेको बालेगाउँ, पुरैनी हुँदै नेपालगन्जको राझा विमानस्थलको दक्षिणबाट नेपालगन्ज–कोहलपुर सडक पार गरेर नयाँ बस्ती हुँदै कोहलपुरसम्मको करिब साढे १६ किमि क्षेत्रको सर्भेको काम पूरा गरी प्रारम्भिक नक्सा तयार पारेको प्रमुख इन्जिनियर राम जनमले बताए । उनका अनुसार पूर्वोत्तर रेल्वे गोरखपुरले रेल्वे लाइन विस्तारका लागि केन्द्रबाट दुवैतर्फ २०–२० मिटर गरी ४० मिटर लामो क्षेत्रको रेखांकन गरी नक्सा तयार पारेको छ ।
पूर्वोत्तर रेल्वे गोरखपुरका प्रमुख इन्जिनियर जनमले प्रारम्भिक चरणको सर्भेको नक्सासहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बाँके र रेल्वे विभाग काठमाडौंलाई बुझाइएको बताए ।
नक्सासहितको प्रतिवेदन बुझाउँदै पूर्वोत्तर रेल्वेले जिल्ला प्रशासन कार्यालय बाँकेलाई रेल्वे लाइन विस्तार हुने क्षेत्रको जग्गाको चलनचल्तीको मूल्यसमेत यकिन गर्न आग्रह गरेको छ । प्रतिवेदन पाएलगत्तै प्रशासन कार्यालयले रेल्वे लाइन विस्तार हुने क्षेत्रको जग्गाको चलनचल्तीको मूल्य यकिन गरी प्रमाणितसमेत गरिरहेको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश शाहीका अनुसार रेल्वे लाइन विस्तार हुने क्षेत्रमा जग्गाको मूल्य प्रतिकठ्ठा ५ लाख देखि ६० लाखसम्म छ । बुझाइएको नक्सा प्रतिवेदनअनुसार काम अगाडि बढाउन नेपाल सरकारले स्वीकृति दिएपछि रेल्वे लाइन निर्माण गरिने क्षेत्रको जग्गामा सीमांकनका लागि पिल्लरहरू गाड्ने काम सुरु हुनेछ । रुपैडिहादेखि कोहलपुरसम्म विस्तार हुने रेल्वे सिंगल लाइनको हुनेछ । साढे १६ किमि लामो रेल्वे लाइनमा करिब ८ किमिको दूरीमा पर्ने पुरैनीमा रेल्वेको जक्सन निर्माण हुनेछ ।
भारतको रुपैडिहासम्म ५० वर्षभन्दा अगाडि नै रेल सेवा सञ्चालन भए पनि नेपालगन्जमा भने पहिलो पटक रेल्वे सेवा विस्तार हुन लागेको हो । यसअघि नेपाल–भारत रेल सेवा सञ्चालनका लागि दुई मुलुकका उच्चस्तरीय रेल्वे अधिकारीबीच नेपालगन्जमा छलफल भएको थियो । पछिल्लो पटक सरकारको सचिवस्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकेसन सर्भे टोली’ गठन गरेको थियो । गत वर्ष साउन ५ गतेको सचिवस्तरीय निर्णयले उक्त टोली गठन गरेको हो ।
कोहलपुरसम्म रेल लाइन विस्तार हुने थाहा पाएर बाँकेका उद्योगी ब्यवसायी उत्साहित भएका छन् । सो रेल्वे लाइन विस्तारपछि सिधै कलकत्ताबाट मालसामान ल्याउन सहज हुने नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष नन्दलाल वैश्यले यो रेल लाइन विस्तारको काम छिटोभन्दा छिटो सम्पन्न गर्न भारत र नेपाल दुवै सरकारसँग आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्