साउदी जेलमा रहेका श्रीमान् फर्काउन अपिल

गोरखा भिमसेन गाउँपालिका–७ बोर्लाङकी अम्बिका राना मगरले साउदी जेलमा रहेका श्रीमान्लाई नेपाल फर्काउन सघाउन सबैसँग अपिल गरेकी छिन् । श्रीमान् कुमार रानाले साउदी अरबमा चलाएको गाडी दुर्घटना हुँदा घाइतेले मागेको करिब ८० लाख नेपाली रुपैयाँ क्षतिपूूर्ति तिर्न नसक्दा जेलमा रहेको उनले बताएकी छिन् ।
सन् २०१६ अप्रिल २४ मा कारमा सवार साउदी नागरिक खलिद अल ओतायवीलाई घाइते बनाएको भन्दै चालक कुमारलाई २०७४ कात्तिकमा पक्राउ गरेर साउदी प्रहरीले हिरासतमा लिएको थियो । त्यसपछि साउदी अदालतले घाइतेलाई क्षतिपूर्तिस्वरुप २ लाख ९४ हजार साउदी रियल तिर्नुपर्ने फैसला गरेपछि ३९ वर्षका कुमारलाई गत जनवरीमा साउदीको अफिफ सेन्ट्रल जेल चलान गरिएको थियो । सवारी चालक अनुमतिपत्र र सबारीसाधनको कागजपत्र नभएकोले साउदी अदालतले उनलाई दोषी ठहराई घाइतेको क्षतिपूर्तिबापत सो क्षतिपूर्तिको फैसला गरेको बताइएको छ । कुमारकी श्रीमती अम्बीकाले भनिन्, “उहाँले चलाएको गाडी रोकिरहेको ठाउँमा सानो कार आएर ठोक्किएको हो रे । मेरो केही गल्ती पनि छैन भन्नुहुन्छ उहाँ ।” उनीसँग चालक अनुमतिपत्र (लाइसेन्स) नभए पनि कम्पनीले हेभी गाडी चलाउने जिम्मेवारी दिएको थियो । कुमार व्यक्तिगत श्रम स्वीकृतिमा २०७१ सालमा साउदी अरबको खालिद एसअल कम्पनीमा हेल्पर पदमा काम गर्न गएका हुन् । साउदी अरबस्थित नेपाली दूतावासले क्षतिपूर्ति रकम नतिरेसम्म कुमारको रिहाइको सम्भावना नरहेको बताएको उनकी श्रीमती अम्बिकाले बताएकी छिन् । उनले भनिन्, “कम्पनीको सहयोगमा फैसलाविरुद्ध अपिल गरे पनि अदालतले सुनुवाइ गर्नु नपर्ने निर्णय गरेको भनेर साउदीको नेपाली दूतावासले भनेको छ ।”
दूतावासले विपक्षीलाई क्षतिपूर्ति रकम नबुझाई कुमारको रिहाइ नहुने भएकाले रकम तिर्ने व्यवस्था मिलाउन आग्रह गरेको उनले बताइन् । क्षतिपूर्ति रकम नबुझाएसम्म कुमार रिहा हुने सम्भावना नभएकाले परिवार र उनका साथीहरू मिलेर कुमार राना उद्धार समिति गठन गरेर सहयोग संकलन अभियान शुरु गरेका छन् । समितिका संयोजक कृष्णप्रसाद ढकालले देशभित्रै र बाहिर रहेका साथीसँगै सबै नेपालीलाई सहयोग गर्न अपिल गरेका छन् । उनले भने, “कुमारलाई नेपाल फर्काउन हामी दूतावासदेखि नेपालकै थुप्रै सरकारी कार्यालय पुग्यौं । तर खासै केही अर्थ लागेन । अब क्षतिपूर्ति रकम संकलन नै गर्नुपर्छ भनेर यो अभियानमा जुटेका छौं ।”
श्रीमती अम्बिकाले भनिन्, “कमाउने मान्छे जेलमा हुनुहुन्छ । व्यवहार टार्न पनि गाह्रो छ । उहाँलाई जेलबाट छुटाउन लाग्ने पैसा हाम्रो घरखेत बेच्दा पनि पुग्दैन । त्यसैले सबैले सहयोग गरेर नेपाल ल्याइदिनुहोला ।” सहयोगीहरूले बैंक खातामार्फत रकम जम्मा गर्न सक्ने उनले बताइन् । प्रभु बैंकको कलंकी शाखाको खाता नं ०३९०१००१००६५६९०००००१ मा रकम जम्मा गर्न सकिने अम्बिकाले जानकारी दिएकी छन् ।