बजेट तर्जुमा गोष्ठी

रौतहटको चन्द्रनिगाहपुरमा जिल्लाका स्थानीय तहका नगर प्रमुखहरूलाई बजेट तर्जुमासम्बन्धी जानकारी गराउने उद्देश्यले सञ्चालित दुई दिने गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा प्लान नेपालको सहकार्यमा भएको बजेट तर्जुमा गोष्ठीमा रौतहटका १८ वटा स्थानीय तहका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखहरूको सहभागिता रहेको थियो । नगरपालिकाका प्रमुख, कार्यकारी अधिकृत तथा लेखा प्रमुखहरूलाई बजेट निर्माण तरिका, अभ्यास तथा समन्वयका बारेमा जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको स्थानीय तथा संघीय मामिला मन्त्रालयका प्रल्हाद कार्कीले बताए । स्थानीय तथा संघीय मामिला मन्त्रालयका अधिकारी सुमन घिमिरे, महेश भट्टराई, प्रल्हाद कार्कीले वार्षिक योजना तथा बजेट तर्जुमासम्बन्धी कानुन र प्रक्रिया, राजस्व प्रक्षेपण तथा सीमा निर्धारण प्रक्रिया, अभ्यास, बस्तीस्तरबाट योजना छनोट, वडा समितिबाट योजना छनोट तथा प्राथमिकीकरण लगायतका विषयमा जानकारी दिएको सहजकर्ता प्रल्हाद कार्कीले बताए ।
जनप्रतिनिधिहरूलाई बजेट निर्माणमा अन्योलता हुन नदिन गोष्ठी गरिएको प्लान नेपालका रौतहट कार्यक्रम इकाई प्रबन्धक नेत्रप्रसाद उपध्यायले बताए ।