विप्रेषणसंगै भित्रिएको विकास «

विप्रेषणसंगै भित्रिएको विकास

म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगमा रोजगारी, पेसा, व्यवसाय र अध्ययनका लागि बिदेसिएकाहरूले गाउँमा करोडौंको विकास भित्र्याएका छन् ।
देशमा रोजगारीको अवसर नहुँदा बाध्यताले बिदेसिएका बेगखोलाका बासिन्दाले घरमा रेमिट्यान्सका अतिरिक्त गाउँमा विकासका पूर्वाधार भित्र्याएका हुन् । प्रवासीहरूको पहलमा बेगमा करोडौं लगानीमा सडक, विद्यालय भवन, खेलमैदान, सामुदायिक भवन निर्माण भएको वडा अध्यक्ष बिलबहादुर फगामीले बताए ।
“बेगको पूर्वाधार विकासमा सरकारको अनुदानका अतिरिक्त पोखरा, काठमाडौं र प्रवासमा बस्नेहरूको आर्थिक तथा स्थानीयवासीको श्रमदानले महŒवपूर्ण सहयोग पुगेको छ,” वडा अध्यक्ष फगामीले भने, “विदेशबाट बेगमा रेमिट्यान्स (विप्रेषण) सँगै विकाससमेत भित्रिएको छ ।”
देशका विभिन्न सहर र विदेशमा पुगेका बेगखोलावासीले बेगखोला कल्याणकारी समाज गठन गरी गाउँको विकासमा सहयोग जुटाउने गरेका छन् । पोखरा, काठमाडौँ, बेलायत, हङकङ, जापान, कोरिया, अमेरिका, कतार, बहराइन, सिंगापुरलगायतका देशमा पुगेका बेगका बासिन्दाहरू समाजमा आबद्ध भएका छन् ।

पूर्वाधारमा प्रवासीको सहयोग
समाजको पहलमा वि.सं २०७० मा १ करोड २५ लाख रुपैयाँको लागतमा ६ किलोमिटर दूरीको बेगखोला–देउराली नमुना हरित सडक र पाँच किलोमिटर दूरीको तिप्ल्याङ–बादुक सडक निर्माण भएको थियो ।
प्रवासी र स्थानीयवासीको पहलमा बेग देउरालीमा सभाहलसहितको सामुदायिक भवन समेत निर्माण भएको छ । बेगको तिप्ल्याङस्थित कालिका आधारभूत विद्यालयमा स्वर्गीय भिसी तुलबहादुर पुनको स्मृतिमा बेलायती अभिनेत्री जोहोना लुम्लीको पहलमा वि.सं. २०६८ मा दसकोठे पक्की कक्षाकोठा भवन निर्माण भएको थियो ।
वि.सं. २०७२ मा बेलायतको ह्यान्ड्स टुगेडर तिप्ल्याङ परियोजनाको सहयोगमा थप पाँचकोठे भवन निर्माण भएको थियो । बेगखोला युवा क्लबको पहलमा वि.सं २०७३ मा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीको १४ लाख ३४ हजारको सहयोगमा भलिबल र बास्केटबल खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको थियो ।
हरेक वर्ष आफ्नो जन्मथलोको विकासका लागि कुनै न कुनै अभियान सञ्चालन गर्दै आएको समाजले यस वर्ष बेगस्थित महादेव माविको भवन पुनर्निर्माण अभियान सञ्चालन गरेको छ । वि.सं. २०२५ मा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण बनेपछि समाजको अगुवाइमा सुरु भएको अभियानका क्रममा १ करोड ३३ लाख रुपैयाँ सहयोगको घोषणा भएको समाजका अध्यक्ष योगकुमार फगामीले बताए ।
विश्वभर रहेका बेगखोलाका बासिन्दा र पूर्व विद्यार्थीहरूलाई समेटेर अभियान सञ्चालन गरिएको एनआरएनए बेलायतका अध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघ मोनाका उपाध्यक्ष समेत रहेका फगामीले बताए ।
कक्षा १० सम्म पठनपाठन हुने १ सय ७० जना विद्यार्थी अध्ययनरत विद्यालयमा यसअघि प्रवासी पूर्वविद्यार्थीहरूले ३२ लाख रुपैयाँको विभिन्न अक्षयकोष स्थापना गरेका छन् । कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीहरूको प्रोत्साहनका लागि छुट्टाछुट्टै अक्षयकोष रहेको प्रअ धनबहादुर फगामीले बताए ।

सामाजिक सञ्जालले सजिलो
फेसबुक, ट्विटर, भाइबर, इमो, म्यासेन्जरलगायतका सामाजिक सञ्जालमार्फत संसारको विभिन्न ठाउँमा छरिएका बेगखोलावासीहरूसँग छलफल गर्ने र सहयोग जुटाउने गरिएको बेगखोला कल्याणकारी समाज हङकङका संयोजक नक्क गर्बुजाले बताए । अभियान सञ्चालनका लागि सामाजिक सञ्जालको प्रयोगले सजिलो बनाएको उनको अनुभव छ ।
२०७३ भदौ १७ गते राति बेगखोलामा आएको बाढीले विस्थापित बेगखोलाका ११ घरपरिवारको पुनस्थापनाका लागिसमेत प्रवासीहरूले ३० लाख सहयोग जुटाएका छन् । पुनस्थापनाका लागि जग्गाको व्यवस्थापन हुन नसक्दा संकलित रकम परिचालन हुन सकेको छैन ।
—सन्तोष गौतम

प्रतिक्रिया दिनुहोस्