सहकारीलाई उद्योगमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह «

सहकारीलाई उद्योगमा लगानी गर्न मुख्यमन्त्रीको आग्रह

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीहरूलाई उद्योगमा लगानी गर्न सुझाव दिएका छन् । सबै सहकारी मिलेर उद्योगमा लगानी गर्न सके उत्पादन बढ्नुका साथै रोजगारीसमेत सिर्जना हुने पौडेलले बताए ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सहकारी व्यवस्थापनसम्बन्धी कार्यशाला गोष्ठीको हेटौंडामा उद्घाटन गर्दै उनले सहकारीमा अर्बौ रकम रहेको भन्दै त्यसलाई उद्योगमा लगानी गर्न सके रोजगारी खोज्दै विदेशिनेको संख्या घट्ने दाबी गरे । “हाल जिल्लाका सहकारीमात्र नभएर देशभर रहेका सहकारीले बचत तथा ऋणको मात्र काम गरिरहेको छ । सहकारीको काम त्यो मात्र होइन । अब परिवर्तन हुन जरुरी छ । अब उत्पादन तथा रोजगारीमूलक क्षेत्रमा लगानी गर्न जरुरी रहेको छ,” उनले भने । साना सहकारीलाई मर्ज गर्न आवश्यक रहेको समेत उनले बताए । सहकारीबाट ऋण लिएर उत्पादनको काममा लगाउनु पर्नेमा पनि मुख्यमन्त्रीको जोड थियो ।
हाल नेपालमा स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई बढी प्राथमिकता दिइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । “स्वदेशमा उत्पादन गरेका वस्तुको हामी उपयोग गर्दैनौं, अब आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिनुपर्छ,” पौडेलले भने, “भारतमा उत्पादन गरेको मालाले कार्यक्रममा स्थान पाइरहेकोले त्यसलाई हामीले बन्द गरेउ अब ३ नम्बर प्रदेशले स्वदेशमै उत्पादन भएका वस्तुलाई मात्र प्राथमिकता दिने उद्देश्यले नीति नियम बनाउँदैछौं ।”
सहकारी देशको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा रहेको भन्दै उनले नेपालका सहकारीले महिलालाई रोजगारीको साथै आत्मनिर्भर बनाउँदै लगेकोमा प्रशंसासमेत गरे । “महिलाले नै सहकारी सञ्चालन गरेका छन् । समग्रमा सहकारीमा पुरुषभन्दा महिलाको बाहुल्य बढी छ,” पौडेलले भने । संघीय संरचनाअनुरुप तीनवटै तहमा सहकारी वर्गीकरण भएकोले संरचनाअनुरुप कानुन निर्माणको क्रममा रहेको उनले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहकारीलाई समन्वय र सहजीकरणमा आफूहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्