वैज्ञानिक वन व्यवस्थापनमा स्थानीय सक्रिय «

वैज्ञानिक वन व्यवस्थापनमा स्थानीय सक्रिय

कपिलवस्तु र अर्घाखाँची जिल्लाको सिमाना पावराको जंगलमा अग्निरेखा बनाउन लागेका स्थानीय वनजंगल जोगाउनुपर्छ भनेर एकजुट थिए । वनको विनाश नहोस् भन्नका लागि यहाँ जुटेका छौं स्थानीयवासीको भनाइ छ ।
वनलाई जोगाउन अग्निरेखा बनाउन लागेका स्थानीय पावराका रामु रेश्मी भन्छन्, “आगलागीबाट बचाउन फायर लाइनको व्यवस्था गर्न लागिएको हो, यो अग्निरेखा बनाएपछि वन संरक्षण गर्न सहयोग पुग्छ, हावाहुरीबाट आगलागी भए पनि सजिलै जंगललाई जोगाउन सकिन्छ ।”
पावरा सामुदायिक वनका अभ्यक्ष युगेन्द्रबहादुर रेश्मी भन्छन्, “स्थानीय सबैको साथ छ, यहाँबाट काठ बिक्रीबाट आउने पैसाले २५ प्रतिशत यहाँको वन संरक्षण, ३५ गरिबी न्यूनीकरण, ४० सामाजिक विकासका कार्यमा पैसा खर्च हुन्छ । वार्षिक काठ बिक्रीबाट १५ लाखको आम्दानी हुन्छ,” रेश्मीले भने । वनको पैसाबाट नै पावरा माविका ६ जना शिक्षकलाई तलब खुवाएको, वनको भवन निर्माण गरेको तथा भौतिक विकासका लागि लगानी गरेको वनकी उपाध्यक्ष दुर्गादेवी पाण्डेले बताइन् । वैज्ञानिक वन व्यवस्थापन नगर्दा आगलागीको डर, बोटबिरूवा हुर्किन नपाउने बेफाइदा रहेको उपाध्यक्ष पाण्डेले बताइन् ।
सहायक वन अधिकृत जितेन्द्र खड्काले वैज्ञानिक वन व्यवस्थापन आव ०६७/६८ मा कपिलवस्तुको तिलौराकोटबाट सुरू भएको बताउँदै अर्घाखाँचीको पावरामा आव ०७२/७३ मा कार्ययोजना निर्माण तथा ०७३/७४ मा कार्यान्वयनमा आएको बताए । उनले वैज्ञानिक वन व्यवस्थापनमा परिपक्व रूखको बाहुल्य बढी हुने र विस्तारै ढल्दै जाने हुनाले काम नलाग्ने बाटेहरू सखाप पारेर नयाँ बिरुवा उत्पादन गरेको बताए ।
उनले ८० वर्ष सालको उमेर भएकाले प्रत्येक वर्ष १.२४ हेक्टर कटान गर्दै जाँदा र ८० वर्षमा पावरामा रहेको १११ हेक्टरमा नै नयाँ विरुवा रोपिने र गतवर्ष रोपिएको ठाउँमा ८१ वर्षमा रुख कटान गरिने उनले बताए । उनले वैज्ञानिक वन व्यवस्थापनले सुरूदेखि नै स्याहार पाएको बिरूवाबाट गुणस्तरीय काठ पाइने बताएकाले यो कार्य प्रभावकारी हुने बताए । उनले वन व्यवस्थापन गर्दा तारबार, गोडमेल र कटान गर्दा रोजगारी सिर्जना हुने बताउँदै स्थानीय आगो लाग्नबाट बचाउन प्रतिबद्व हुनैपर्ने उल्लेख गरे । उनले अग्निरेखा अर्थात् फायर लाइन हुँदाहुदै पनि आगलागीबाट जोगाउन गाह्रो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्