हस्तकला मेलामा १५ करोडको कारोबार «

हस्तकला मेलामा १५ करोडको कारोबार

राजधानीको भृकृटीमण्डपमा सम्पन्न हस्तकला व्यापार मेलामा १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र र हस्तकला महासंघको संयुक्त आयोजनामा भएको १५ औं हस्तकला प्रदर्शनीमा १५ करोड रुपैयाँको कारोबार भएको हो । महासंघका अध्यक्ष धर्मराज शाक्यले मेलामा १५ करोड रुपैयाँको कारोबार भएको बताए । २ लाख ५० हजार जनाले मेला अवलोकन गरेका छन् । मेलामा पस्मिना, छाला, अल्लो, ढाकालगायतका सामानको बिक्री बढी भएको महासंघले जनाएको छ ।
हस्तकलाका सामानप्रति ग्राहकको आकर्षण बढ्दै गएकाले पनि व्यापार राम्रो भएको महासंघका अध्यक्ष शाक्यले बताए । “गतवर्ष १४ करोड रुपैयाँको कारोबार भएको थियो,” अध्यक्ष शाक्यले भने, “स्वदेशी हस्तकलाका सामानप्रति ग्राहकको आकर्षण बढ्दै गएकाले पनि कारोबारमा वृद्धि भएको हो ।” हस्तकलाको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष मेला हुँदै आएको छ ।
पाँच दिनसम्म सञ्चालन भएको मेलामा स्वदेशी र विदेशी गरी दुई सय वटा स्टल राखिएको थियो । बंगलादेश, पाकिस्तान, चीन र भुटान, भारत, चीन, जापान र जर्मनीबाट व्यापारीहरु मेलामा सहभागी भएका थिए । अन्तर्राष्ट्रिय बजारमा हस्तकलाका सामानको माग बढ्दै गएसँगै निर्यात पनि बढ्दै गएको हो ।
महासंघका अध्यक्ष शाक्यले अन्तराष्ट्रिय बजारमा हस्तकलाको माग बढ्दै गएकाले निर्यात पनि बढ्दै गएको बताए । अघिल्लो वर्ष पाँच अर्ब रुपैयाँको कारोबार भएकोमा गएको वर्ष बढेर ६ अर्ब रुपैयाँको निर्यात भएको उनको भनाइ छ । माग बढ्दै गए पनि जनशक्ति अभावले समयमा सामान निर्यात गर्न नसकिएको उनले जानकारी दिए । हस्तकला सम्बन्धित नीति नहुँदा यसले निर्यात बढाउन कठिन भइरहेको व्यवसायीको भनाई छ । महासंघका अनुसार निर्यात भएको हस्तकलाका समानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेको छ ।
महासंघका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानाडा, कुवेत, जापान, चीन, भारतलगायत ८० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ ।
मुलुकबाट विशेषगरी स्थानीय स्रोतसाधानबाट उत्पादित अल्लो वस्तु, बासजन्य वस्तु, पोतेका सामान, हाड सिंङका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, स्फटिकजन्य सामान, ढाका, फेल्ट, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेसाजन्य, चाँदी गरगहना, प्रस्तकला, काष्ठकला र उलनजन्य सामान विदेशमा निर्यात हुँदै आएको छ ।
नेपाली हस्तकला क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा १२ लाख मानिस आबद्ध छन् । अन्तर्राष्ट्रिय बजारमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा अत्यधिक माग हुने गरेको व्यवसायी बताउँछन् । परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको छ । परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातु कलालगायत रहेका छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला रहेका छन् ।
मेलाको अन्तिम दिन उत्कृष्ट व्यवसायीलाई नगदसहित सम्मानसमेत गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्