कडीपत्ता बेच्न भारत पस्दै बालबालिका «

कडीपत्ता बेच्न भारत पस्दै बालबालिका

डडेल्धुरा-नयाँ शैक्षिक सत्र शुरु भइसक्दा पनि डडेल्धुराको परशुराम नगरपालिका–५ जोगबुढाको परिगाउँ बस्ने ११ वर्षिया मञ्जु साउद विद्यालय छाडेर कडीपत्ता (तेजपत्ता) बेच्न भारतीय बजार पुग्ने गरेकी छन् । उनले प्रतिकेजी ३० रूपैयाँमा कडीपत्ता बिक्री गर्ने गरेकी छन् । आफ्नै खेतबारीमा पाइने कडीपत्ता संकलन गरी भारतीय बजारमा लगेर बिक्री गर्नु उनको दैनिकी नै हो । उनकी साथी १४ वर्षीया लक्ष्मी बोहराको दिनचर्या पनि यसरी नै वित्ने गरेको छ ।
नेपाली बजारमा खासै बिक्री नहुने र बस्तुभाउले समेत खान छाडेका कडी पत्ता भारतीय बजारमा भने महंगो मूल्यमा बिक्री हुने गरेको छ । कडिपत्ता भारतमा विवाह, ब्रतबन्ध तथा ठूला–ठूला होटल, सेमिनारमा बनाइने खानाका परिकारमा प्रयोग हुने गरेको मञ्जु बताउँछिन् । भारतीय बजारमा गुणस्तरी कडीपत्ताको मूल्य प्रतिकेजी ३० देखि ४५ रूपैयाँसम्म पर्छ । पढ्ने लेख्ने रहर हुँदाहुँदै पनि पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा आफूले तेजपत्ता बिक्री गर्ने गरेको उनले बताइन् ।
मञ्जु र लक्ष्मी जस्तै डडेल्धुराका धेरै बालबालिका गुजारा चलाउन कडीपत्ता बिक्री गर्न भारत पुग्ने गरेका छन् । पारिवारको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकाको दिनचर्या बिहान र बेलुकाको खानाको जोहो गर्नुमै बित्छ । खानाकै जोहो गर्न अप्ठ्यारो परिस्थिति भएको बेला स्कुलमा गएर पढ्नु उनीहरूका लागि गरिवले महलको सपना देख्नु जस्तो रहेको स्थानीय मोहन चन्दले बताए ।
यहाँका बालबालिका भारतको उत्तराखण्डमा रहेका टनकपुर, पूर्णागिरीलगायतका बजारसम्म कडीपत्ता बिक्री गर्न पुग्छन् । सरकारले यो वर्षदेखि बालबालिकालाई अनिवार्य रूपमा विद्यालय भर्ना गर्नुपर्ने नियम लागू गरेको छ । तर यस क्षेत्रका ३५ प्रतिशत बालबालिका शिक्षाबाट वञ्चित रहेको चन्दले बताए ।
परशुराम नगरपालिका–४ का वडा सदस्य प्रेम कोलीले गरिवीका कारण यस क्षेत्रका बालबालिका विद्यालय जानबाट बन्चित हुने गरेको बताए । उनले अभिभावक रोजगारीका लागि भारतका विभिन्न शहर जाने गरेको र बालबालिका दैनिकी खर्च जुटाउन कडिपत्ता बिक्री गर्न भारतमै पुग्ने गरेको बताए ।
हिमेश विक

प्रतिक्रिया दिनुहोस्