पार्टी एकता भएपछि पहिलो शुभकामना मोदीको आउँछ : भट्टराई «

पार्टी एकता भएपछि पहिलो शुभकामना मोदीको आउँछ : भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले–माओवादी केन्द्रबीचको एकता हुनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो शुभकामना आउने स्पष्ट पारेका छन् । उनले भने, “एमाले र माओवादीबीच एकता हुँदा भारतीय प्रधानमन्त्री मोदी र चिनीयाँ राष्ट्रपति सि जिनफिङको शुभकामना आउँछ ।” एमाले–माओवादी एकताप्रति मोदीको सद्भाव रहेको उनले बताए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सचिव भट्टराईले भारतीय प्रधानमन्त्री मोदीको अब हुने नेपाल भ्रमणलाई आफूहरुले सफल बनाउने बताए । उनले भने, “मोदीजीको भ्रमण सफल हुन्छ, हामी सफल बनाउँछौं । पछिल्लो समय नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिएको छ, हामीबीच रहेका सबै असमझदारी हटेका छन् । भारत पनि नेपालमा विकास र समृद्धि चाहन्छ, हामी पनि भारतसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छौं । मोदीको यो भ्रमण दुई देशबीचको सम्बन्धमा कोशेढुँगा सावित हुन्छ ।”
साक्षात्कारमा उनले मोदीको नेपाल भ्रमणको बेला नेपाल–भारत द्विपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास दिलाए । उनले मोदी नेपाल भ्रमणमा आउँदा यसपटक जनकपुर पनि जाने कार्यक्रम रहेकोले आफूहरुले जनकपुर र मुक्तिनाथको भ्रमण गराउने तयारी थालिसकेको बताए । मोदीको भ्रमण सफल बनाउन सिँगो सरकार तयारीमा जुटिसकेको पनि उनले जानकारी दिए ।
नेता भट्टराईले एमाले–माओवादीले एक–अर्काको अस्तित्व स्विकार गरिसकेकोले आफूहरु सहकार्यमा रहेको बताउँदै भने, “एकता जनताबाट अनुमोदित भैसकेको छ, अब पछि हट्ने ठाउँ छैन, एकतालाई टुँगोमा पुर्याउनको लागि दुवै पार्टीका अध्यक्षवीच धेरैपटक वार्ता तथा छलफलहरु भएका छन्, छलफल अहिलेपनि जारी छ ।”
एकता भनेपछि संगठनपनि मिलाउने कुरा भएकोले राजनीतिक जित्दापनि गणित र मनोविज्ञानको उचित व्यवस्थापन गर्नुपर्ने भएकोले अहिले आफूहरु त्यस कार्यमा व्यस्त रहेको भट्टराईको भनाइ छ । उनले पार्टी एकता ५०-५० को अनुपातमा भन्दापनि सिँगो पार्टी भनेको त १०० प्रतिशत हुने बताउँदै भने, “सिँगो पार्टी नै भएपछि त उहाँ (प्रचण्ड) को हातमा पार्टी हुन्छ ।”
भट्टराईले एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने समेत स्पष्ट पारेका छन् । अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने स्पष्ट पार्दै सचिव भट्टराईले भने, “कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ । लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन । जो पनि अध्यक्ष हुनसक्छ । अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्