‘टोलटोलमा प्रहरी, अपराध र भ्रष्टाचारमा शून्य सहनशिलता’ «

‘टोलटोलमा प्रहरी, अपराध र भ्रष्टाचारमा शून्य सहनशिलता’

हेटौंडा- ३ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी मंगलबार हेटौंडामा सम्पन्न भएको छ । केन्द्रीय, प्रादेशिक जिल्लाको सुरक्षा रणनीति अनुसार तोकिएको कार्य सम्पादनमा एकरुपता ल्याउने र सरकारले अगाडि सारेको विकास र समृद्धिको नारालाई सार्थक बनाउनका निमित्त अनुकूल वातावरण तयार पार्न गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीले भ्रष्टाचार, अनियमितता र अपराधविरुद्ध शून्य सहनशिलताको नीति कडाईका साथ लागू गर्ने सरकारको राणनीति तय गरेको छ । सरकार र गृहमन्त्रीबाट घोषणा भएको प्रतिबद्धताको कार्यान्वयनको पहिलो चरणको रुपमा गोष्ठीलाई लिइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । साथै टोल–टोलमा सुरक्षाकर्मी परिचालन गर्ने, साना हातहतियारलाई नियन्त्रणमा लिइने तथा लागूऔषधको कारोबार र प्रयोगलाई न्यूनीकरण गर्ने पनि सुरक्षा गोष्ठीमार्फत प्रतिवद्धता जनाइएको थियो ।
छिमेकी राष्ट्र चीन र भारत दुवैको सीमानासँग जोडिएको प्रदेश भएको कारणले यस प्रदेशको सुरक्षालाई विशेष चासोका साथ हेरिएको छ । “सुदृढ, विश्वस्त र त्रुटिरहित शान्तिसुरक्षाको अभावमा अवैध व्यापार, कालोबजारी, तस्करी, राजश्व छली,चन्दा संकलन, प्राकृतिक स्रोतको अत्याधिक दोहान तथा मानव बेचबिखन बढिरहेको छ । त्यसलाई पन्छाउँदै सम्पूर्ण सुरक्षा निकायहरूको संयुक्त प्रयासबाट न्यूनीकरण गर्दै अगाडि बढ्ने उद्देश्यले गोष्ठी गरिएको हो,” गृह प्रवक्ता सुवेदीले भने ।
गोष्ठी उद्घाटन गर्न हेटौंडा आइपुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र सिण्डिकेट अन्त्य गरेरै छाड्ने प्रतिवद्धता जनाए । उनले भ्रष्टाचार, सिण्डिकेट र तस्करी विकासका लागि बाधक रहेको भन्दै सरकार यसलाई समाप्त पार्न सरकार अग्रसर रहेको बताए । “शान्ति सुरक्षा र अपराध न्यूनीकरण गर्नु हाम्रो कर्तव्य हो । अब देशलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनका लागि विकास विरोधी गतिविधिसँग जोडिएको मुद्दामा कुनै सम्झौता हुँदैन,” उनले भने ।
उनले बाम गठबन्धन नेतृत्वको सरकारको मुख्य जनादेश विकास र समृद्धि भएको भन्दै यसका लागि सुशासन, सुरक्षा र स्थायित्व आवश्यक रहेको बताए । उनले सुरक्षा अवस्था सदृढ बनाउनका लागि सबै प्रदेशमा प्रदेशस्तरीय गोष्ठी भइरहेको समेत जानकारी दिए । मन्त्री बादलले केही व्यवधान र विलम्ब भएपनि छिट्टै दुई पार्टी एकिकरण हुने दावी गरे । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताए ।
उनले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका
तयारीमा सरकार जुटिसकेको बताएँदै पशुपतिनाथ, जनकपुरधाम र मुक्तिनाथको दर्शन गर्ने समेत बताए ।
गृहमन्त्री बादलले विप्लव माओवादीको गतिविधिलाई व्यंग्य गर्दै भने, “नेपालमा पुनः धर्म, जातको नाममा समानन्तर सरकार खडा गर्ने नाममा अस्थिरता खडा गर्ने काम भइरहेको छ ।” उनले यस्ता क्रियाकलाप नियन्त्रण गर्दै देशमा सुशासन, शान्ति तथा स्थायित्व कायम गर्न सरकार गम्भीर भएको बताए । उनले सुरक्षाको दृष्टिकोणाले प्रदेश नम्बर–२ संवेदनशील भएको बताउँदै देशभर सुरक्षाको प्रत्याभूति दिलाउने तर्फ सरकार गम्भीर रहेको बताए ।
सुरक्षा गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको सहभागिता रहेको थियो । गृहमन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा भएको गोष्ठीमा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल तथा राष्ट्रिय अनुन्धानका प्रमुख दीलिपराज रेग्मीको उपस्थिति रहेको थियो । गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेशअन्तर्गत्का जिल्लाहरूका प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको समेत सहभागिता रहेको थियो । सवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्