पर्यटन, शिक्षा र स्वास्थ्यका लागि ५० करोड बढीको कोष «

पर्यटन, शिक्षा र स्वास्थ्यका लागि ५० करोड बढीको कोष

‘समृद्ध झापाको लागि अन्तर्राष्ट्रिय झापाली’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय झापाली समाजले कतारमा प्रथम क्षेत्रीय भेला सम्पन्न गरेको छ ।
उक्त भेलाले छ बुँदे दोहा घोषणापत्र २०१८ पनि जारी गरेको छ । घोषणा पत्रमा समृद्ध झापा निर्माणमा पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषि क्षेत्रका विकासको लागि ५० करोडभन्दा बढीको कोष खडा गर्ने, पर्यटन विकासको लागि चन्द्रगडी विमानस्थलको सुधार, प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको घोषणाअनुसार सुरु गरेको मिस्त्री टोल नमुना बस्ती तीन महिनाभित्रमा नै सम्पन्न गर्ने, दोस्रो क्षेत्रीय भेलाको मिति, स्थान र अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीयस्तरमा रहेका संघ–संस्थासँग देश निर्माणका कार्यहरुमा सहकार्य गर्नेजस्ता योजना रहेका छन् ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोख्रेलको अध्यक्षता तथा नेपाली राजदूतावास कतारका नियोग उपप्रमुख मणिरत्न शर्माको प्रमुख आतिथ्यमा दोहा होटल क्राउन प्लाजाको होलिडे इनमा भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास कतारका नियोग उपप्रमुख मणिरत्न शर्माले शुभकामना दिँदै कतारमा श्रमिकहरुका समस्या धेरै आउने गरेकोले दूतावासले बिदाका दिनमा पनि सेवा प्रदान गरेको बताए । उनले नेपाली विद्यालय, नेपाली रेडियो, नेपाली हाउस, दुरशिक्षा कार्यक्रम जस्ता कार्यहरुको लागि सम्बन्धित निकायसँग छलफल गरी प्रक्रियामा गइसकेको बताए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाले भेलाको सफलता र प्रगतिका लागि पत्रमार्फत पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
कार्यक्रममा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्टले शुभकामना दिँदै एनआरएनएले शुरु गरेका मेघा प्रोजेक्ट, एनआरएनए बिल्डिङ बार्पाक जल विद्युत् र गाउँपालिकाका स्कूलहरुसँग सहकार्य गरी आवश्यक सहयोग गर्ने जस्ता आयोजनामध्ये केही सुरु गरिसकेको र केही कामहरु लगत्तै सुरु गर्न लागेको बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक भवानी ओली, प्रवक्ता महेन्द्र चौलागार्इं, उपाध्यक्ष छत्र सुब्बा, दीपक ओली, सचिव ललीत न्यौपानेलगायतको आतिथ्य रहेको थियो । त्यस्तै युके, अमेरिका, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, इजरायल, हङकङ बेल्जियम, कुवेत, नेपाल र लक्समवर्गका झापाली समाजका प्रतिनिधिहरुका साथै कतारका वैचारिक, सामाजिक र जातिय संघ–संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्