बमको हल्लाले सर्वोच्च अदालतमा तनाव, इजलाश स्थगित «

बमको हल्लाले सर्वोच्च अदालतमा तनाव, इजलाश स्थगित

बम राखिएको हल्लापछि सर्वोच्च अदालतमा मंगलबार इजलाश स्थगन भएको छ । टेलिफोनबाट सर्वोच्च अदालत परिसरमा बम राखिएको हल्ला गरिएपछि सर्वोच्च अदालतमा मंगलबार कुनै मुद्दा पेशी चढेनन् । सर्वोच्च अदालतको टोल फ्री नम्बरमा ल्याण्डलाइन नम्बरबाट बम रहेको टेलिफोन आए पनि बम नभेटिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए ।
टोल फ्रि नम्बरमा फोन आएको नम्बर डल्लुको मेडिकल र असनको फोटो स्टुडियोको रहेको उनले बताए । मध्यान्ह सवा १२ बजे सर्वोच्च सचिवालयको टोल फ्री नम्बर १६६००१३३३५५५ मा फोन आउँदा सचिवालयका शाखा अधिकृत नितिश रायले फोन उठाएका थिए ।
अज्ञात व्यक्तिले अन्त राख्नुपर्ने बम गल्तिले सर्वोच्च अदालतमा राखिएको बताएको ८ मिनेटपछि सर्वोच्चका प्रवक्ता पन्थीको मोबाइलमा ल्यान्डलाइन नम्बर ०१–४२८११७३ बाट फोन आएको थियो । “सर्वोच्च अदालतमा तीनवटा बम गल्तिले राखिन गएको थाहा भयो भनेर भनियो,” प्रवक्ता पन्थीले त्यसबारे आफूलाई थाहा नभएको बताउने बित्तिकै फोन काटिएको बताए । त्यसलगत्तै पुनः फोन गरेर ‘सबैलाई हटाउनुस्, सर्वोच्चमा बम राखिएको छ’ भनेपछि बम कहाँ राखिएको छ भनेर आफूले सोधेको र जवाफ नदिई ती व्यक्तिले फोन काटेको उनले बताए ।
बम भएको हल्लापछि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले बमको खोजी गरेको थियो । तर, कतै बम नभेटिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए । गलत खबर दिएर आतंकित बनाउने व्यक्तिको खोजी भइरहेको उनले बताए । निर्वाचनको विपक्षमा रहेको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवार सवार गाडी, चुनावी सभास्थल र उम्मेदवार लक्षीत आक्रमण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्