सदरमुकाम सुनसान गाउँमा चहलपहल «

सदरमुकाम सुनसान गाउँमा चहलपहल

देश संघीयतामा गएसँगै पूर्वाधार विस्तारसँगै लगानी र आम्दानीको केन्द्र बनेको जिल्ला सदरमुकाम मार्तडी सुनसान हुन थालेको छ । सदरमुकाममा हुने चहलपहल स्थानीय तहका केन्द्रमा बढेको छ ।
जिल्ला सदरमुकाम सुनसान भएपछि आर्थिक तथा व्यापारिक गतिविधि कम हुँदै गएको छ । सदरमुकाममा व्यापारिक गतिविधिमा कमी भएसँगै व्यापारीले व्यापारमा घाटा हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सबै अधिकार स्थानीय तहमा गएपछि गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकामको आभास गाउँमा हुन थालेको छ । जिल्ला सदरमुकाम मार्तडीमा व्यापार शून्य भएसँगै व्यापारीहरू आआफ्नो स्थानीय तहमा केन्द्रित भएका छन् । यस्तै, मार्तडीमै होटल व्यवसाय गरी वार्षिक ८ लाखसम्म कमाई गर्दै आएका हिरेन्द्र थापाले आफ्नो होटल बिक्री गरेका छन् । “गाउँबाट ग्राहक आउन छाडेपछि होटल चल्न छाड्यो थापाले भने, “सबैजसो व्यापारी सदरमुकाम छाड्ने तयारीमा छन् ।”
३ वर्षदेखि सदरमुकाम मार्तडीमा किराना पसल सञ्चालन गरिरहेका बलबहादुर रोकायाले भने, “दैनिक कम्तीमा १० देखि १५ हजारको व्यापार हुन्थ्यो । अहिले त व्यापार घटेर चौपट छ ।” यसअघि मार्तडीबाट सञ्चालन हुने अधिकांश सरकारी कामकाज हाल स्थानीय तहमै हुन थालेका छन् । योजनाको सम्झौता, निकासालगायत प्रशासनिक कामकाज गाउँमै हुन थालेपछि सदरमुकाम आउनेहरू स्थानीय तहमै रोकिएका कारण सदरमुकामको व्यापार घटेको हो ।
“अब गाउँपालिकातिरै पसल सार्ने विचार गरेको छु,” १० वर्षदेखि कपडा पसल सञ्चालन गर्दै आएका गौमूल गाउँपालिकाका गोरख बोहोराले भने, “मार्तडीको व्यापार सुकिसक्यो ।” मार्तडीमा व्यापार व्यवसाय सुनसान हुन थालेपछि सदरमुकाममा व्यापार गर्दै आएका कतिपय व्यापारी स्थानीय तहका केन्द्रमा सर्ने तयारीमा रहेको उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाले बताए । यसअघि सदरमुकाममा मात्र केन्द्रित बैंकिङ सेवा केही स्थानीय तहमा विस्तार भइसके केही हुँदैछन् । बाजुराको कोल्टीस्थित बूढीनन्दा नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेको छ । बूढीगंगा नगरपालिकामा सिद्धार्थ बैंकको शाखा स्थापना भएको छ । अन्य स्थानीय तहमा बैंक विस्तार हुने तयारीमा छन् । बैंकहरूले यसअघि सदरमुकामको जग्गा धितो कारोबार गर्दै आएका थिए । “अहिले स्थानीय तहका नगरपालिकाका जग्गाको समेत बैंकहरूले कारोबार सुरु गर्न थालेपछि ग्रामीण क्षेत्रमा आर्थिक व्यापारमा लगानी बढेको छ । मार्तडीकै स्थानीय नरबहादुर रावलले भने, “प्रायःजसो कर्मचारी स्थानीय तहतिर सरुवा भएर गएपछि सदरमुकाममा २५ सयदेखि ४ हजार सम्ममा पनि कोठा भाडामा जान्थ्योे आजकाल कोठा खाली छन् ।”
एचआरसी बाजुरामा कार्यरत अग्नी शाहीले भने, “सदरमुकाम सुनसान हुन थालेसँगै घरजग्गा र व्यापार व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीहरू अन्योलमा छन् । पछिल्ला ३ र ४ वर्षमा बाजुरा सदरमुकाममा जग्गाको भाउ बढेर आकासिएको थियो । प्रतिवर्ग मिटर १४ हजारसम्ममा खरिदबिक्री हुन थालेको मार्तडीको जग्गाको कारोबार अहिले स्थिर रहेको स्थानीयले बताए ।
पदम सिंह

प्रतिक्रिया दिनुहोस्