बेइजिङ अटो शो

काठमाडौं – अहिले बेइजिङमा विश्वभरका सवारी उत्पादकहरू एकत्रित भएका छन् । चीनमा हरेक वर्ष हुने सबैभन्दा ठूलो अटो शो चलिरहेको छ । उक्त शोमा सयभन्दा बडी नयाँ मोडलका कार सार्वजनिक भएका छन् ।
तपाईं हामीले सुनेका कार ब्रान्डहरू जस्तै– जनरल मोटर, फक्सवागन, फोर्ड, टोयोटा, बीएमडब्लू, निसानलगायत अन्य थुपै्र कार उत्पादक अहिले आफ्ना नयाँ उत्पादनसहित चीनमा छन् । यसअघि कहिल्यै बाहिरि विश्वले नसुनेका चिनियाँ ब्रान्डहरू पनि आफ्नो सशक्त उत्पादनसहित बेइजिङ अटो शोमा सहभागी छन् ।
चिनियाँ सवारी उत्पादकहरू जस्तै– बीवाइडी, ग्रेटवाल, गिलीले विश्वस्तरीय सवारी उत्पादकले चीनमा ल्याएभन्दा कम स्तरीय सवारी प्रदर्शन गरेका छैनन् । विश्वको सबैभन्दा ठूलो कार बजार चीनले आफ्नो देशमा अन्य देशको ब्रान्ड आएजस्तै आफ्नो देशको ब्रान्ड पनि विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने स्तरको उत्पादन गरिसकेको यो अटो शोमा सार्वजनिक भएका उत्पादनले देखाउँछ । अमेरिका, युरोपलगायत अन्य मुख्य बजारमा चिनियाँ सवारीहरू छिट्टै प्रतिस्पर्धा गर्न पुग्ने अड्कल काट्न थालिएको छ ।
पछिल्लो समय अमेरिका र चीनबीचको व्यापारिक युद्धले अटोमोबाइल उद्योगमा पनि प्रभाव पार्ने देखिएको छ । यो अटो शोमा त्यस्तो केही संकेत त देखिएको छैन, तर त्यसपछि के हुन्छ समयक्रमले बताउँदै जानेछ ।
गएको दुई दशकमा चिनियाँ कार बजार अकल्पनीय रुपमा वृद्धि भएर विश्वको ठूलो बजारका रुपमा स्थापित भइसकेको छ । गत वर्ष चीनमा कार, लाइट ट्रक तथा क्रसओभर भेइकलसहित २ करोड ४७ लाख बिक्री भएको थियो भने अमेरिकामा जम्मा १ करोड ७२ लाख वटा सवारी बिक्री भएको थियो । चीनको पश्चिमी भेगमा बढ्दै गएको आर्थिक गतिविधिले छिट्टै प्यासेन्जर सवारी वार्षिक बिक्री ५ करोड पुग्ने अनुमान गरिएको छ । यसको परिणामका रुपमा चिनियाँमात्र, होइन अन्य देशका सवारी उत्पादकले समेत नयाँ उत्पादनमा ठूलो लगानी गर्नुपर्ने देखिन्छ ।
यो वर्षको अटो शोमा अधिकांश विदेशी सवारी उत्पादक कम्पनीहरूले चीनका लागिमात्र भनेर नयाँ उत्पादन सार्वजनिक गरेका हुन् । फक्सवागनले २०२१ सम्ममा चीनका लागि भनेरै १५ वटा विद्युतीकृत सवारी बजारमा ल्याउने घोषणा गरेको छ । त्यस्तै यो अटो शोमा जनरल मोटरले पनि स्थानीय बजारलाई भनेर केही मोडल सार्वजनिक गरेको छ । सँगै विश्व बजारमा सार्वजनिक भएका सवारीले पनि चिनियाँ बजारमा राम्रो पकड कायम गरेको छ ।
चीन अटोमोबाइल व्यापारमा अत्यन्त रक्षात्मक पंक्तिमा रहेको छ, जस्तो विश्वका अरु कुनै मुलुकले गरेका छैनन् । चीनले विदेशमा निर्मित सवारीमा २५ प्रतिशत भन्सार लगाउँदै आएको छ । चीनको उक्त भन्सार नीतिले अमेरिकी सवारीको आयातमा ठूलो संकुचन आएको छ । चीनमा अहिलेको भन्दा १० गुणा बढी अमेरिकी सवारीको माग रहेको छ । तर उक्त भन्सार दरका कारण सवारीको मूल्य निक्कै महँगो हुने भएकाले त्यो माग दबिएर बसेको छ । गत वर्ष ३ लाख अमेरिकामा उत्पादित सवारी चीन निर्यात भएको थियो, जुन चिनियाँ बजारको करिब १ प्रतिशतमात्र हो । यसले विदेशी सवारी उत्पादकहरूलाई चीनमै अर्बौं डलर लगानी गर्न बाध्य पारेको छ । चीनमा स्वतन्त्र रुपमा अटोमोबाइल क्षेत्रमा लगानी गर्नसमेत पाइँदैन । लगानी गर्नका लागि स्थानिय सवारी उत्पादकसँग साझेदारी अनिवार्य छ ।
गत साता चिनियाँ राष्ट्रपति सी जिनपिङले सवारी साधनमा लाग्दै आएको भन्सार दरमा हेरफेर गर्ने संकेत गरेका छन् । सँगै राष्ट्रपति सीले चीनमा लगानी गर्न आउने सवारी उत्पादक कम्पनीहरूले स्थानीय उत्पादकसँगै अनिवार्य साझेदारी गर्नुपर्ने प्रावधानमा समेत परिमार्जन गरिने बताएका छन् । यसले चिनियाँ तथा अमेरिकी अटो बजारका साथै विश्वभर नयाँ तरंगको संकेत गरेको छ ।
बेइजिङ अटो शोमा सार्वजनिक कार
पछिल्लो समय चीन एसियाको मात्र होइन, विश्वका सबै देशको चासोको केन्द्र बनेको छ । त्यहाँ हुने हरेक कुराले विश्वभर एक खालको तरंग पैदा गर्ने गरेको छ । चीनले लिने नीतिदेखि त्यहाँ हुने उत्पादनसम्मले मानिसलाई प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने अवस्था छ । हरेक कुरा उत्पादकका लागि चीन सबैभन्दा ठूलो बजार पनि हो । १ अर्ब ५० करोड हाराहारी जनसंख्या भएकाले हर कुराका लागि उपयुक्त बजार हुनसक्छ । पछिल्लो समय सवारी उत्पादक कम्पनीहरूका लागि चीन उर्भर भूमि हो ।
अहिले चीनको राजधानी बेइजिङमा बेइजिङ इन्टरनेशनल अटो शो २०२८ चलिरहेको छ । उक्त अटो शोमा विश्वका प्रख्यात सवारी उत्पादक कम्पनीहरू तत्काल बिक्री गर्न सकिनेदेखि भविष्यमा आउन सक्ने ‘कन्सेप्ट’ कार लिएर बेइजिङ पुगेका छन् । बेइजिङ अटो शोमा बीएमडब्लू, ब्यूक, इनफिनिटी, लेक्सस, मर्सिडिज–बेन्ज, निसान, फक्सवागन, भोल्भो लगायत धेरै ब्रान्ड उपस्थित भएका छन् । उक्त शोमा सयभन्दा बढी विद्युतीय सवारी रहेका छन् । चिनियाँ सवारी उत्पादनक कम्पनीहरूले पनि विद्युतीय सवारीलाई बढी प्राथमिकता दिएका छन् ।
बेइजिङ अटो शो सर्वसाधारणका लागि अप्रिल २९ देखि मे ४ सम्म खुल्ला हुनेछ । बेइजिङ अटो शोमा आएका विलाशी कार यस्ता छन् :
ब्युक इन्सपायर
दुई दशकपहिले ब्यूकलाई जीएममा संकट पर्दा चिनियाँ बजारले जोगाएको थियो । हाल ब्यूकका सवारी चीनमा इन्ट्रि लेवल लक्जरी कार ब्रान्डका रुपमा चर्चित छ । ब्यूकले आफ्नो विद्युतीय कार इन्सपायर बेइजिङ अटो शोमा सार्वजनिक गरेको छ । उक्त इन्सपायर कार क्रसओभर कन्सेप्ट हो, जुन ३७० माइल रेन्जमा हुने कम्पनीले जनाएको छ ।
मर्सिडिज मेबेक
जर्मन विलाशी कार निर्माता मर्सिडिजले बेइजिङमा नयाँ भिजन मर्सिडिज मेबेक लिमिटेड लक्जरी कन्सेप्ट सार्वजनिक गरेको छ । ७५० हर्सपावरको मेबेक अल–इलेक्ट्रि मा समेत डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
मर्सिडिज ए–क्लास
मर्सिडिजले बेइजिङमा अर्को मोडल ए–क्लास सेडान कारसमेत सार्वजनिक गरेको छ । यो कार थप सुविधासहित सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
लेक्सस इएस
विलाशी कार निर्माता लेक्ससले बेइजिङमा आफ्नो नयाँ कार इएस सार्वजनिक गरेको छ । यो लेक्ससको सातौं पुस्ताको लक्जरी सेडान हो ।
इनफिनिटी इलेक्ट्रिक
इनफिनिटीले बेइजिङ अटो शोमा पूर्ण विद्युतीय कार सर्वजनिक गरेको हो । उक्त कार कम्पनीले चीनमै उत्पादन गर्ने उल्लेख गरेको छ ।
भोल्भो एस९०
स्वीस कार निर्माता कम्पनी भोल्भोले बेइजिङमा आफ्नो नयाँ एस९० एम्बियन्स कन्सेप्ट कार सार्वजनिक गरेको छ । यो कार भोल्भोको एस९० भन्दा निक्कै विलाशी हुने कम्पनीले जनाएको छ ।
फक्सवागन लाभिदा र टोरेग
चीनमा राम्रो बजार बनाउन सफल जर्मन सवारी उत्पादक फक्सवागनले बेइजिङ अटो शोमा दुई वटा नयाँ कार लाभिदा र एसयुभी टोरेग सार्वजनिक गरेको हो । फक्सवागन लाभिदा सेडान चीनमा राम्रो बिक्री हुने कार मध्येमा पर्दछ ।
निसान टेरा
जापानी कार निर्माता कम्पनी निसानले बेइजिङमा टेरा एसयूभी सार्वजनिक गरेको छ । यो कार चिनियाँ डिजाइन भएको र चीनमै उत्पादन हुनेछ ।
बीएमडब्लू एमटू र एक्सफो
बीएमडब्लूले बेइजिङ अटो शोमा नयाँ एमटू सार्वजनिक गरेको हो । उक्त कार ४ सय ५ हर्सपावरको हुने कम्पनीले जनाएको छ । त्यस्तै, बीएमडब्लूले एक्सफोर क्रसओभर समेत सार्वजनिक गरेको छ, जुन एसियाली बजारमा पहिलो पटक आएको हो ।
उत्कृष्ट र खराब ५ चिनियाँ उत्पादन
बेइजिङ अटो शो २०१८ मा चिनियाँ कम्पनीहरूले सार्वजनिक गरेका ५ उत्कृष्ट र ५ खराब कारलाई यहाँ प्रस्तुत गरिएको छ ।
पाँच उत्कृष्ट कारहरू
डोङफिङ एओलेस
चिनियाँ स्टार्ट अप कम्पनी डोङफिङले बेइजिङ अटो शोमा इलेक्ट्रिक स्पोटर्स कारको कन्सेप्ट सार्वजनिक गरेको छ । विगतमा यस्ता कार युरोपले मुलुकका कार उत्पाकहरूले मात्र उत्पादन गर्ने कल्पना गरिन्थ्यो । तर चिनियाँ कार उत्पादक कम्पनीले नै आगामी केही वर्षमा उक्त कार सडकमा ल्याउने गरि काम भइरहेको जनाएको छ । यो कार बेइजिङ अटो शोमा धेरैले अवलोकन गरिरहेका छन् ।
फोर्ड एस्कर्ट
फोर्डको एस्कर्ट चिनियाँ बजारमा सन् २०११ मा सार्वजनिक भएको हो । २०१८ को बेइजिङ मोटर शोमा एस्कर्टको फेसलिफ्ट सार्वजनिक गरिएको छ । यो कार चिनियाँहरूको रोजाइमा रहेकाले केही परिमार्जन गरी ल्याइएको कम्पनीले जनाएको छ ।
गीली आइकन
चिनियाँ कार उत्पादक कम्पनी गीलीले बेइजिङ अटो शोमा नयाँ कन्सेप्ट कार आइकट सार्वजनिक गरेको छ । भोल्भोको एक्सी४० मा आधारित रहेर यो कारको कन्सेप्ट तयार पारिएको हो । यो कन्सेप्ट कार तत्कालै उत्पादन भने नहुने गीलीले जनाएको छ ।
वे आर५७
अर्को चिनियाँ कार उत्पादक कम्पनी वेले युरोप र अमेरिकामा आफ्नो उपस्थिति जनाइसकेको छ । यो कम्पनीका कार आगामी दशकमा अमेरिका र युरोपमा बेस्ट सेलर हुने अनुमान गरिएको छ । बेइजिङ मोटर शोमा वेले आफ्नो नयाँ मोडल आर५७ सार्वजनिक गरेको छ ।
होङसी कन्सेप्ट
एफएडब्लू अन्तर्गतको कार उत्पदक कम्पनी होङसीले बेइजिङ अटो शोमा नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको छ । यो कार वेस्ट क्लासको कार हुने जनाइएको छ ।
खराब ५ कारहरू
केडीसी रेगाटो
यो कारलाई अटोकार युकेले बेइजिङ अटो शोमा सार्वजनिक भएको खराब कारका रुपमा चित्रित गरेको छ । यो कार म्याकलरेन १२सी डिजाइन जस्तो देखिने भए पनि डल जस्तै देखिने भनेको छ ।
भेनुसिया द एक्स
चिनियाँ कम्पनी भेनुसियाले प्रर्दशनीमा राखेको द एक्स कारलाई उक्त अनलाइनले हालसम्मकै खराबकार भएको र यसबारे कुनै चर्चा नै आवश्यक नभएको उल्लेख गरेको छ ।
जोते आइ–क्रस
जोतेले जर्मन कार उत्पादक पोस्र्चको कार जस्तै डिजाइनमा नयाँ कार सार्वजनिक गरेको हो । चिनियाँ उपभोक्ताहरू यो कारमा भन्दा ओरिजिनल फर्मकै कार खरिदमा लालायित हुने दाबी उक्त अनलाइनले गरेको छ । न की जोतेको यो कारमा आकर्षित होउन ।
बेस्टर्न
यो कम्पनीको नाम बारे नै उक्त अनलाइनले प्रश्न गरेको छ । बेस्टर्नले कन्सेप्ट मात्र सार्वजनिक गरेको छ । उक्त कार बारे प्रष्ट नपारिएकाले यो वेस्टर्नको कारलाई पनि खराबको सूचीमा राखिएको छ ।
बीवाइडी
चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडीले नयाँ कन्सेप्ट कार बेइजिङ अटो शोमा सार्वजनिक गरेको छ । उक्त कार इएक्स–अडी कन्सेप्टमा आधारित रहेको छ । बीवाइडीले सार्वजनिक गरेको कन्सेप्ट कार पनि हेर्न लायक नभएको दाबी अटोकार युकेले दाबी गरेको छ ।
(एजेन्सीको सहयोगमा)