अपडेट हुँदैनन् वेबसाइट «

अपडेट हुँदैनन् वेबसाइट

जिल्लामा रहेका स्थानीय तह तथा सरकारी कार्यालयका वेबसाइट लामो समयदेखि अपडेट भएका छैनन् । कतिपय कार्यालयले वेभसाइट निर्माण गरे पनि त्यसको प्रयोग नगरेको पाइएको छ ।
सरकारले सरकारी कार्यालय तथा स्थानीय तहलाई वेबसाइट निर्माण गरेर आफ्नो कार्यालयका सूचना तथा अन्य गतिविधि वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने बताएको छ । तर जिल्लामा त्यसको कार्यान्वय भने हुन सकेको छैन । स्थानीय तहमा एकजना आईटी अफिसरको समेत व्यवस्था गरीएको छ । सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गएको असार २९ गते सबै स्थानीय तहलाई पत्राचार गरी वेबसाइट निर्माण गर्ने निर्देशन दिएको थियो । स्थानीय तहमा वेबसाइट सञ्चालन गरी स्थानीय तहले गरेका गतिविधि सार्वजनिक गर्ने निर्देशन दिएको थियो । जसले गर्दा स्थानीय तहले गरेका कार्य सहज रूपमा जनताले प्राप्त गर्ने सक्ने लक्ष्य सरकारले लिएको छ ।
यसरी वेबसाइट अपडेट नहुदा नागरिक सहज रूपमा सूचना पाउनु पर्ने अधिकारबाट वञ्चित भएका छन् । वेबसाइट राखेपछि नागरिकहरू घरमै बसेर सहज रूपमा सूचना प्राप्त गर्ने सक्नेछन् । तर त्यसो हुन सकेको छैन । जिल्ला समन्वय समितिको वेबसाइट पनि लामो समयदेखि अपडेट भएको छैन । समन्वय समितिको वेबसाइटमा सरुवा भएको लामो समय भइसकेका कर्मचारीको समेत लिस्टमा नाम राखिएको छ । सरुवा भएका कर्मचारीहरूको समेत अझै नाम हटाइएको छैन । त्यसैगरी जिल्ला समन्वय समितिले हालसम्म गरेका निर्णय पनि राखिएको छैन । जिल्ला वन कार्यालय दाङको वेबसाइटमा कार्यालय प्रमुख तथा सूचना अधिकारी, कर्मचारी कसैको पनि नामावली छैन ।
स्थानीय तहका वेबसाइट पनि नियमित अपडेट नहुने गरेको पाइएको छ । कतिपय स्थानीयतहले वेबसाइट निर्माण गरे पनि त्यसको प्रभावकारी प्रयोग गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्