रेलमार्गबाट विराटनगर नाकासम्म आयो तेस्रो मुलुकका सामान

विराटनगर नाकासम्म रेलमार्गबाट तेस्रो मुलुकका सामान आउन थालेको छ । भारतको कोलकाताबाट बुधबार छुटेको रेल विराटनगरको सीमा क्षेत्र बथनाहा स्टेसन आइपुगेको छ । रेलमार्फत सामान आउँदा ढुवानी भाडा झण्डै चालिस प्रतिशत सस्तो हुने अनुमान गरिएको छ ।
विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीबाट बथनाहा स्टेसन ७ किलोमिटर दक्षिणमा अवस्थित छ । बथनाहामा कार्गो सञ्चालनका लागि ठूलो यार्ड भएको हुँदा रेल यहीँसम्म आएको भारतीय पक्षले जनाएको छ । मालवाहक रेलमा समुद्रपारको मुलुकका ५८ कन्टेनर मालसामान छन् । सबै कन्टेनरमा पेप्सीको कम्पनीले पाकिस्तानबाट पैठारी गरेको चिनी रहेको बुझिएको छ ।बथनाहासम्म मालवाहक रेल ढुवानी गर्ने कार्य भारत सरकारको स्वामित्वमा रहेको भारतीय कन्टेनर निगम लिमिटेड (कोनकोर) ले गर्ने जोगबनी भन्सारका अधीक्षक आलोक कुमारले जानकारी दिए । विराटनगर नाकासम्म रेलमार्गबाट तेस्रो मुलुकका मालवस्तु आउन थालेपछि पूर्वका व्यवसायीले पटक–पटक राख्दै आएको एक मुख्य माग पूरा भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले तेस्रो मुलुकका मालसामान मालवाहक रेलबाट विराटनगर नाकासम्म आइपुग्नु व्यवसायीका लागि खुसीको खबर भएको बताए ।
यसअघि सडक मार्गको प्रयोग गरेर मालसामान आयात गरिरहेका ब्यापारीले अनेकौं झन्झण्ट बेहोर्नुका साथै ढुवानी बापतको मूल्य बढी बुझाउनु परिरहेको थियो । रेलबाट सिमाबर्ती बजारसम्म मालसामान आउदा ढुवानी खर्च कम लाग्ने र सुरक्षित समेत हुने मोरङ ब्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिए । खासमा सीमावर्ती भारतीय बजार बथनाहा नभई विराटनगर महानगरपालिकासित जोडिएको कटहरी गाउँपालिकासम्म चालू आर्थिक वर्षभित्र मालवाहक रेल आइपुग्नु पर्ने थियो तर निर्धारित समयभन्दा धेरै ढिलो कटहरी नभई बथनाहासम्म रेल आइपुगेको छ ।