बाँके निकुञ्जमा बाघ पर्यटन «

बाँके निकुञ्जमा बाघ पर्यटन

बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा बाघ बढ्दै गएपछि पर्यटकको आगमनमा पछिल्लो समयमा आएर वृद्धि भएको निकुञ्जले जनाएको छ ।
बाघको संख्या बढेपछि स्थापनाको केही वर्षमै सो निकुञ्ज टाइगर टुरिजम क्षेत्रका रूपमा विकास हुुन थालेको छ । निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम भएकाले निकै सहज रूपमा बाघ देखिन थालेकाले पर्यटकको आगमनमा वृद्धि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघहरू देखिन थालेको खबर फैलिएपछि आन्तरिक र बाह्रय दुवै पर्यटक आउने क्रम बढेको उनले बताए ।
बाघको संख्या बढेपछि टाइगर टुरिजमका लागि सहयोग पुगेको उल्लेख गर्दै उनले
बाघको संख्या बढ्दै गएकाले अवलोकनका लागि पर्यटक आउने क्रम पनि बढेको जनाए ।
निकुञ्जमा वन क्षेत्र कम भएका कारणले पनि बाघ देख्न सहज भएको छ । स्थापना भएको केही वर्षमा निकुञ्जमा बाघ देखिन थालेका थिए । निकुञ्जमा बाघको संख्या बढाउन घाँसे मैदान निर्माण गरिएको छ । त्यस्तै, वन्यजन्तुका लागि प्रयाप्त पानी पोखरीहरू पनि बनाइएका छन् ।
७ वर्षअघि स्थापना गरिएको सो देशकै कान्छो निकुञ्जमा सन् २०१५ मा गणना गर्दा ७ वयस्क र २ डमरु गरी ९ वटा पाटेबाघ भेटिएका थिए । बाघको संख्या यो वर्ष पनि बढेको जनाउँदै यसपटक करिब १२ देखि १५ को संख्यामा बाघ बढेको निकुञ्जले जनाएको छ ।
मध्यवर्ती क्षेत्रमा पर्ने गाभर भ्यालीमा होमस्टे सञ्चालन गर्दै आएका कृष्ण चौधरीले बाघ हेर्नैका लागि पर्यटक आउने क्रम बढेको बताए । “निकुञ्जका बाघ मध्यवर्ती क्षेत्रमा पनि आउजाउ गर्छन् । वन्यजन्तु दिउँसै हेर्न पाइन्छ,” उनले भने, “वन्यजन्तु सहजै हेर्न पाइने भएकाले पर्यटक पनि बढेका हुन् ।” निकुञ्जमा आउने पर्यटकका लागि जंगल सफारीको व्यवस्थासमेत गरिएको छ ।
बाँके निकुञ्जमा कम्दी जैविक मार्ग भएर भारतीय निकुञ्ज सुहेलवाबाट हात्ती र बाघ आउजाउ गर्ने गर्छन् । साढे ५ सय वर्ग किलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्गकिमि मध्यवर्ती क्षेत्रमा निकुञ्ज फैलिएको छ ।
सो निकुञ्जमा बाघ हेर्न आउने पर्यटकहरू बढ्दै जाँदा मध्यवर्ती क्षेत्रमा सञ्चालनमा रहेका आधादर्जन बढी होमस्टे र कोहलपुर र नेपालगन्जका होटलहरूको व्यवसाय पनि बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्