Logo

जोखिमपूर्ण भवनमा प्रहरी

अछाम-जिल्ला प्रहरी कार्यालय अछाम मातहतका विभिन्न प्रहरी यूनिटहरू जोखिमपूर्ण घरहरूमा बस्नुपर्ने बाध्यता छ । आफ्नै भवन नहुँदा जिल्लाका १९ वटा प्रहरी यूनिटहरू भाडाका जोखिमपूर्ण घरहरूमा असुरक्षित रुपमा बस्नुपर्ने बाध्यता भएको हो ।
जिल्ला प्रहरी कार्यालयलगायत ९ वटा प्रहरी यूनिटमात्रै आफ्नै भवनमा छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित र जोखिमपूर्ण भाडाका घरहरूमा बस्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानले बताए । सबैलाई सुरक्षा दिने प्रहरीले नै जोखिमपूर्ण र असुरक्षित घरमा बस्नुपर्दा निकै समस्या हुने गरेको डिएसपी न्यौपानेको भनाइ छ ।
लामो समयदेखि अरुको घरमा भाडा तिरेर बसेका प्रहरी यूनिटहरूलाई पछिल्लो समय स्थानीय तहका कारण थप समस्या भएको छ । स्थानीय तहका कारण भाडा बढाउने र घर छोड्नका लागि ताकेता गर्ने समस्याका कारण भाडाका घर नै नपाउने अवस्था बढेको डिएसपी न्यौपानेले बताए ।
“भाडाका १९ वटा प्रहरी यूनिटहरू मध्ये ५ वटा यूनिटहरू त अति जिर्ण भवनमा बसाल्नु परेको छ,” डिएसपी न्यौपानेले भने, “प्रहरी आफैं असुरक्षित हुँदा जनतालाई सुरक्षा दिन थप समस्या भएको छ ।” कालेकाँडा, शान्तडा, मेल्लेख, ढकारी र सीउडी प्रहरी चौकीहरू अतिनै जोखिमपूर्ण घरमा बसेर सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय अछामको भनाइ छ ।
माथिल्लो निकायबाट सीमित मात्रामा बजेट आउने र उक्त मातहतका प्रहरी यूनिटहरू सञ्चालन गर्न निकै समस्या हुने गरेको बताइएको छ । यस्तै, बेल्खेत, गैरीटाँड र तुर्माखाँदमा रहेका ३ वटा अस्थायी प्रहरी पोष्टहरूका लागि आवश्यक व्यवस्थापनको कामकार्य स्थानीय तहहरूसँग समन्वय गरेर भइरहेको छ ।
भौगोलिक हिसाबले निकै ठूलो र छरिएका बस्ति भएको अछाम जिल्लामा प्रहरी शान्तिसुरक्षा लगायतका सेवा दिन थुप्रै समस्याहरू रहेको जनाइएको छ । जिल्लाभरीमा रहेका २८ वटा प्रहरी यूनिटहरूमा ४०० जना प्रहरी कार्यरत रहेका छन् ।

 होम साउद

प्रतिक्रिया दिनुहोस्