२४ हजार उडान, साढे २७ लाख यात्रुलाई सेवा «

२४ हजार उडान, साढे २७ लाख यात्रुलाई सेवा

मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१७ को ९ महिनामा २४ हजार २ सय ४२ उडान भएका छन् भने यसबाट २७ लाख ४८ हजार ३ सय ३८ यात्रुले सेवा लिएका छन् । यात्रु संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ लाख ४० हजार ६ सय ६४ जनाले बढी हो । २०१६ मा १९ हजार १२ उडानमार्फत २५ लाख ७ हजार ६ सय ७४ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले सेवा पाएका थिए । नेपाल आउने र जाने एयरलाइन्स कम्पनीहरुले १२ हजार ४ सय टन कार्गो ढुवानी पनि गरेका छन् ।
२०१७ को ९ महिनामा विमानस्थल भएर बाहिरिने यात्रुको संख्या १४ लाख ८३ हजार ३ सय ७४ छ । यस्तै, सोही अवधिमा नेपाल भित्रिने यात्रुको संख्या १२ लाख ६४ हजार नौ सय ६४ रहेको छ । गत वर्षको सोही अवधिमा बाहिरिने यात्रु १२ लाख ८७ हजार ६१ जना थियो र यात्रु १२ लाख २० हजार ६ सय १३ थिए । २०१५ मा कुल ३२ लाख १७ एक सय ६२ जना यात्रुले त्रिभुवन विमानस्थल भएर अन्तर्राष्ट्रिय हवाई यात्रा गरेका थिए । यो संख्या २०१६ मा बढेर ३५ लाख १० हजार ७ सय ४२ पुगेको थियो । निरन्तर बढ्दो हवाई यात्रु सन् २०१७ को अन्त्यसम्ममा ३७ लाख को हाराहारीका पुग्ने विमानस्थल कार्यालयको अनुमान छ ।

जेट एयरवेज पहिलो
विमानस्थलको तथ्यांकअनुसार ९ महिनामा गत वर्ष पहिलो स्थानमा रहेको नेपाल एयरलाइन्सलाई पछि पार्दै जेट एयरवेजले सबैभन्दा बढी यात्रुलाई सेवा दिएको छ । जेट एयरवेजले ३ लाख ४७ हजार ४२ र नेपाल एयरलाइन्सले २ लाख ५३ हजार ४ सय ४४ यात्रुलाई सेवा दिएको छ । तेस्रोमा रहेको फ्लाई दुबईले २ लाख १८ हजार ८ सय ४७ र चौथोमा एयर अरेबियाले २ लाख १७ हजार ५ सय १६ यात्रुलाई सेवा दिएको छ । निजी क्षेत्रको हिमालय एयरलाइन्सले ८८ हजार ७ सय ८३ यात्रुलाई मात्रै सेवा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्