लुम्बिनीमा बुद्धको अस्तु धातु प्रदर्शन «

लुम्बिनीमा बुद्धको अस्तु धातु प्रदर्शन

रुपन्देही-२५६२ औं बुद्ध जयन्तीको उपलक्ष्यमा बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर परिसरमा भगवान गौतमबुद्धको अस्तु धातु (सर्वज्ञ धातु)को सार्वजनिक प्रदर्शनी भएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाज लुम्बिनीले भगवान बुद्धको अस्तु धातुको सार्वजनिक प्रदर्शन कार्यक्रम आयोजना गरेको हो ।
अस्तुधातु अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सपत्नी मायादेवी मन्दिर परिसरमा बिहानै पुगेका थिए । प्रधानमन्त्री ओलीले निकै रुचिपूर्वक अस्तुधातुको अवलोकन गरेका थिए । प्रम ओलीलाई अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक अध्यक्ष भिक्षु मैत्रेय महास्थबिरले अस्ति धातुको महत्वको बारेमा जानकारी गराएका थिए ।
समाजले हरेक वर्ष बुद्ध जयन्तीको दिन सर्वसाधारणलाई बुद्ध अस्तु धातु सार्वजनिक प्रदर्शन गराउँदै आएको छ । १ लाखभन्दा बढी सर्वसाधारणले अस्तुधातुको अवलोकन गरेका छन् ।
अस्तु धातुलाई सर्वज्ञ धातु पनि भन्ने गरिन्छ । बुद्ध अस्तु धातुलाई श्रीलंकाबाट अमरपुर संघ सभाका सभापति श्रीलंका सरकारका धार्मिक सल्लाहकारले आफ्नो मन्दिरमा राखेर पूजा गर्ने गरेको धातु श्रीलंका सरकारमार्फत समाजका संस्थापक अध्यक्षलाई प्रदान गरेको हो ।
संस्थापक अध्यक्ष भिक्षु मैत्रेयले श्रीलंका सरकारको अनुरोधमा त्यहाँ १२ वर्षसम्म बसेर बुद्ध धर्मको अध्ययनका साथै बौद्ध शिक्षकका रूपमा कार्य गरी श्रीलंका रेडियोमा ६ वर्ष सम्म सिंहाली, नेपाली र हिन्दी भाषामा कार्यक्रम प्रस्तुत गरेका थिए । यो अस्तु धातु नेपालमा २०५० सालमा ल्याइएको हो ।
लुम्बिनीसँगै आनन्दकुटी बिहार काठमाडौँ मार्फत् अस्तु धातु ल्याइएको हो । अस्तु धातु भनेको भगवान बुद्धले महापरीनिर्वाण पछि उनको अन्तिम सस्कार क्रियापछि शरीरका विभिन्न भागबाट धातु बनेको हो ।

प्रतिक्रिया दिनुहोस्