सर्वोच्चको आदेशविपरीत सारियो गाउँपालिका कार्यालय «

सर्वोच्चको आदेशविपरीत सारियो गाउँपालिका कार्यालय

रुकुम- रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित कार्यालय सारेको छ । गाउँ कार्यपालिकाको गत चैत्र २८ गतेको निर्णय कार्यान्वन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि अवज्ञा गर्दै कार्यालय सारिएको हो । कार्यपालिकाको बैठकले गाउँपालिकाको केन्द्र ३ नम्बर वडाको खारानेटामा कायम गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयका विरुद्ध सर्वोच्चमा परेको रिटउपर सुनुवाई गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्मका लागि खारानेटामा गाउँपालिका नसार्न आदेश दिएको थियो । 

वैशाख ७ गते कायममुकायम प्रधान न्यायधिश दीपकराज जोशीको इजलासले अर्को आदेश नभएसम्मको लागि २ नम्बर वडाको सिम्रतुमा कार्यालय स्थापना गरेर सोही ठाउँबाट कामकाज चलाउन निर्देशन पनि दिएको थियो । तर आइतबार गाउँपालिकाले हालसम्म कामकाज चलाउँदै आएको ७ नम्वर वडाको मुरुडाडाबाट खारानेटामा कार्यालयका सरसामग्री सारेको छ ।

आइतबार कार्यालयका सरसामग्री सारिए पनि गाउँपालिकाले भने गत वैशाख ६ गतेदेखि नै खारानेटाबाटै गाउँपालिकाको कामकाज सञ्चालन हुँदै आएको सूचना समेत निकालेको छ । सर्वोच्च अदालतको आदेश मुरुडाडाकै कार्यालयमा वैशाख ९ गते दर्ता गरिए पनि ६ गतेदेखि नै खारानेटाबाट कार्यालय सञ्चालन भैरहेको सूचना १० गते जारी गरेको थियो । १ नम्वर वडा अध्यक्ष मोहनकिशोर ओलीले सर्वोच्चमा विचाराधिन मुद्दाको टुङ्गो नलाग्दै बहुमतको बाहानामा कार्यालय सारिएको बताए ।
“गाउँ कार्यपालिकाको निर्णय कार्यान्वन नगर्न नगराउन आदेश भएको छ,” अध्यक्ष ओलीले भने, “तर गाउँ कार्यपालिकामा बहुमत कायम गरिएको घमण्डमै कार्यालय खारानेटा सारियो, यो गलत भएको छ ।” गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले स्थानीय तहको स्वायत्त सरकारले गरेको निर्णय कार्यान्वयन गरिएको बताए । उनले निर्णय भएदेखि नै खारानेटाबाट कामकाज सुरु भएको भन्ने बुझ्दा हुने बताएका छन् ।
“यो निर्णय स्वायत्त सरकारले गरेको हो, गाउँपालिकाको केन्द्र खारानेटा बनाउने बहुमतका साथ निर्णय भएपछि सामग्री कहिले सार्यो भन्ने महत्वपूर्ण होइन,” उनले भने । गत चैत २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गत असोज ६ र ७ गते बसेको गाउँ सभाको निर्णय उल्ट्याउँदै खारानेटा गाउँपालिकाको केन्द्र तोकेको थियो ।
असोज ६ र ७ गतेको गाउँ सभाबाट बहुमतका साथ गाउँपालिकाका केन्द्र सिम्रुतु–खारानेटा तोेकेको थियो । सिम्रुतु २ नम्वर वडामा पर्छ भने खारानेटा ३ नम्वर वडामा पर्छ । सिम्रुतुदेखि खारानेटाको दूरी ७ किलोमिटर रहेको छ । उक्त गाउँ सभाको निर्णय राजपत्रमा समेत प्रकाशन भएको थियो । गाउँ सभाबाट २ ठाउँमा केन्द्र राख्ने निर्णय भएको र त्यो कार्यान्वनमा समस्या भएको भन्दै चैत २८ गतेको गाउँ कार्यपालिकाको बैठकले खारानेटामै गाउँपालिका केन्द्र बनाउने निर्णय गरेको थियो । उक्त निर्णयको विरुद्धमा ७ नम्वर वडाबासी मीनबहादुर ओलीले सर्वोच्चमा रिट हालेका थिए ।

मेगराज खड्का

प्रतिक्रिया दिनुहोस्