बाली जोगाउन विद्युतीय तारबार «

बाली जोगाउन विद्युतीय तारबार

कालोभालुले बालीमा क्षति पुराउन थालेपछि चुमनुब्री गाउँपालिका–२ ल्होको भर्जममा विद्युतीय तारबार लगाउन थालिएको छ । गाउँलेले खेती गर्ने क्षेत्रलाई समेटेर साढे १ किलोमिटर बारीमा विद्युतीय तारबार लगाउन थालिएको हो । हरियो वन, मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप र गाउँपालिकाको प्रयासमा विद्युतीय तारबार थालिएको हो ।
हरियो वन र एमक्यापले ८ लाख रुपैयाँ र गाउँपालिकाले २ लाख रुपैया बराबरको सहयोग गरेको एमक्यापका प्रमुख नरेन्द्र लामाले जानकारी दिए । जेठ मसान्तसम्ममा तारबार सम्पन्न गर्ने लक्ष्य छ । सोलार सिस्टमबाट करेन्ट प्रवाह हुनेगरि विद्युतीय तारबार लगाइएको हो ।
करेन्टको झट्काले कालोभालु बालीमा छिर्न सक्दैन, डराएर भाग्छ । कम भोल्टेजको करेन्ट भएकाले यसले जिवजन्तु तथा मानवजातीलाई असर नगर्ने लामाले बताए । “बाली सखाप पार्न छिर्ने भालुलाई सचेत गराउने हिसाबले विद्युतीय तारबार लगाइएको हो । मान्छेलाई, जिवजन्तुलाई यसले असर गर्दैन ।” चिसो ठाउँ भएकाले सो क्षेत्रमा करु, जौ, आलु, मकै खेती हुने गर्दछ । यो खेतीपनि भालुले सखापै पार्न थालेपछि स्थानीय किसानहरु चिन्तित भएकाले बाली संरक्षणका लागी एमक्यापले तीन बर्षदखि खेती गरिने ठाउँमा विद्युतीय तारबार लगाउन शुरु गरेको हो ।
हालसम्म प्रोकको करीब ५ किलोमीटर र नामरुङमा पनि बाली जोगाउन विद्युतीय तारबार लगाइसकिएको आयोजना प्रमुख लामाले बताए । एमक्याप समेटिएको चुमनुब्रीको सबै वडामा किसानले लगाएका बालीमा भालुआतंक छ ।

 

प्रतिक्रिया दिनुहोस्