हावाहुरीले फलफुलमा क्षति «

हावाहुरीले फलफुलमा क्षति

हुम्लामा हावाहुरीसहित परेको असिनापानीले फलफूलमा ठूलो क्षति पुगेको छ । जिल्लाका सबैजसो भागमा हावाहुरीसहितको असिनापानीले फूललाई झारेपछि यसवर्ष फलफूल उत्पादनमा कमी आउने संकेत देखिएको छ । स्याउ, ओखर, चुली, खामु, आरु, आरुवखडालगायतका फलफुलको बोटमा नोक्सानी पुराउँदा किसान चिन्तित बनेका छन् । यहाँ नगद संकलनको एकमात्र खेती फलफूल हो । हावाहुरीसहितको असिनापानीले फलफूल खेती गर्ने किसानलाई करोडौंको नोक्सानी भएको छ । सात वटै गाउँपालिकामा उपभोग र बिक्रीको लागि खेती गरेको फलफूलबाट आशासमेत मरेको स्थानीय किसानले बताएका छन् ।
दाँते ओखरलाई प्रति गोटा ५ रुपैयाँ, स्याउ प्रति गोटा १० रुपैयाँमा बिक्री हुन्छ । सिमिकोट–३ लाँदुका अगुवा किसान कार्साङ्गमु लामाले फलफूलमा नराम्रो क्षति पुगेको बताए । होम गार्डेनमा ५ सय बोट स्याउ थपेका धनबहादुर लामाले गतवर्ष नै ३ लाख रुपैयाँ कमाएपनि यसवर्ष आशा कम रहेको बताए । सर्केगाड उनापानीका दिपक फडेराले पनि गत वर्ष ३ लाख रुपैयाँ बराबरको आम्दानी गरेको बताउँदै यस वर्षभने आम्दानी हुनेनहुने आशंका गरे ।
उता वनमा हुने गुच्ची च्याउ उम्रिने बेलामा आएको असिनापानीले केही आम्दानीको परिपुर्ति हुने देखिएको छ । यो च्याउ ओसिलो ठाउँमा सल्ला र ठिगो प्रजातिको बोट मुनी उम्रन्छ । हिउँदमा जंगलमा आगलागी हुँदा र ओसिलो स्थानमा पाइने यो च्याउलाई हुम्लामा प्रति किलो ५० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । पौष्टिक तरकारी र शक्तिवद्र्धक तरकारी बालीको रूपमा लिइने गुच्ची च्याउबाट भने यसपटक राम्रो आम्दानी लिन सक्ने किसान बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्