रुपन्देहीमा सामान्यदेखि पाँचतारे होटलसम्ममा अर्बौं लगानी «

रुपन्देहीमा सामान्यदेखि पाँचतारे होटलसम्ममा अर्बौं लगानी

पर्यटन, उद्योग, व्यापार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नेपालकै महत्वपूर्ण जिल्लाका रूपमा रुपन्देही रहनुको फाइदा स्वरूप जिल्लामा वार्षिक अर्बौं लगानी बढिरहेका छन् ।
पछिल्लो समय रुपन्देहीमा उद्योग व्यवसायसँगै पर्यटन उद्योगका रूपमा चिनिने होटल व्यवसायमा समेत अर्बौं लगानी थपिएको छ ।
दुई साताअघि मात्रै बुटवल गोलपार्कमा एभिन्यू होटल सञ्चालनमा आएको छ । ५० करोड लगानीको यो होटल रुपन्देहीमा सञ्चालित होटलहरुमध्ये सबैभन्दा नयाँ तथा बुटवलको सबैभन्दा उत्कृष्ट हो । संभावनाहरु बढदै गए पछि र भैरहवाको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भैरहनु, बुद्ध जन्मस्थल लुम्बिनी यही हुनु र नेपालको अन्य क्षेत्रभन्दा यहाँ औद्योगिक तथा व्यावसायिक वातावरण बढी हुनु जस्ता कारणले पनि यहा अन्य व्यवसायमा जस्तै पर्यटन उद्योगका रूपमा होटल सञ्चालन हुने क्रम बढेको हो । जिल्लामा पछिल्लो समय होटल व्यवसायमा अर्बौं लगानी थपिएका छन् । यहाँ पाँचतारेदेखि सामान्य पर्यटकीय सुविधासहितका दर्जनौं होटल निर्माणसँगै सञ्चालनमा आएका छन् ।
भैरहवा नजिकै चिल्हियामा वैदेशिक लगानी रहेको सिल्भर हेरिटेज ग्रुपको टाइगर रिसोर्ट सञ्चालनमा आइसकेको छ । ५ अर्ब बढीको लगानीमा क्यासिनो सहितको यो रिसोर्ट पश्चिम क्षेत्रको पहिलो पाँचतारे हो ।
टाइगर रिसोर्ट मात्र नभई यहाँ अन्य ठूला तथा साना होटलहरु निर्माणसँगै सञ्चालनका क्रममा रहेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । करोडदेखि अर्ब लगानी सम्मका पाँचतारेदेखि पर्यटक सुविधा भएका होटलहरु तीव्र रूपमा निर्माण हुने क्रम बढेको छ, श्रेष्ठले भने । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि पर्यटन व्यवसायी पवन हलवाईले पवन प्यालेस इन्टरनेसनलको निर्माण गरिरहेका छन् ।
पाँचतारे सुविधा भएको होटलका रूपमा यो निर्माण भैरहेको र अबको १ वर्ष भित्र सञ्चालनमा ल्याउने योजना रहेको पवन प्यालेसका प्रबन्ध निर्देशक एवं पर्यटन व्यवसायी पवन हलुवाईले बताए । १ अर्ब ५० करोड बढीको लगानीमा निर्माण सम्पन्न हुने पवन प्यालेस होटल बुद्धजन्मस्थल लुम्बिनीको पहिलो पाँचतारे होटल बन्नेछ । होटल निर्माण दुई चरणमा गरी निर्माण भइरहेको होटलका सञ्चालक एवं प्रबन्ध निर्देशक पवन हलवाईले बताए । होटलमा १४० कोठासहित, ३ रेस्टुराँ, कफिसप, मेडिटेसन हल, २ वटा कन्फ्रेन्स हल, स्वीमिङ पुल, हेल्थ क्लब, स्पा रहनेछन् ।सात तले होटलमा विश्वस्तरको प्रेसिडेन्सियल सुइट रूम एकवटा, सुइट रूम २० वटा समेत हुनेछन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ पर्सा चौराहाभन्दा करिब १ किमि पूर्व हाइवे नजिकै होटल पवन प्यालेस निर्माणधीन अवस्थामा छ ।
उता भैरहवा नजिकै बसन्तपुरमा अबस्थित होटल बोधी रेडसन पनि तिन तारेबाट पाँचतारे होटलका रूपमा स्तरउन्नति गर्ने भएको छ । बोधी रेडसनले थप सुबिधा थप्दै ६४ वटा नयाँ कोठा निर्माण गरेसँगै कोठा संख्या १०६ वटा पुगेको छ । सबै कोठाहरु सुविधासम्पन्न छन् भने सञ्चालनमा समेत आइसकेको छ ।
नयाँ सबै कोठा अत्याधुनिक फायर फाइटिङ (कोठाको तापमान आफैँ अत्याधिक बढेपछि पानी फाल्ने पद्धति) जडान रहेको होटलका महाप्रबन्धक अमृत खनालले जनाए । यो होटलमा अब एकै साथ २१२ जना पर्यटक बास बस्न सक्नेछन् ।
भैरहवामा रहेको गौतम बुद्ध बिमानस्थललाई स्तरउन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा निर्माण सुरु भइरहेको अवस्थामा निर्माण सम्पन्न पछि बढ्ने हवाईयात्रुको चापलाई मध्यनजर गर्दै अहिले देखिनै लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण गर्ने क्रम बढ्दै गएको पर्यटन व्यवसायी तथा सिद्धार्थ होटल एसोसिएसनका सचिव रवीन्द्र शर्मा घिमिरेले बताए । घिमिरेले पर्यटक सुविधासहितको सिटी म्याक्स होटल ६ करोड लागतमा निर्माण गरी सञ्चालनमा ल्याएका छन् ।
त्यस्तै भैरहवामा युवा व्यवसायी रामबहादुर कोइरीले १० करोड लागतमा होटल निर्माण गरिरहेका छन् । कोइरीले १ वर्षभित्र होटल सञ्चालनमा ल्याउने योजना बनाएका छन् । त्यस्तै विमानस्थल नजिकै लुम्बिनी रोडमा एयरपोर्ट होटलको निर्माण भइरहेको छ । बुद्धजन्मस्थल लुम्बिनीमा पनि आधादर्जन बढी होटल निर्माणका क्रममा छन् भने अहिले सञ्चालनमा रहेका होटलहरुले पनि स्तरउन्नति गरिरहेका छन् ।
भैरहवाकै बुद्धचोकमा पाँचतारे होटल निर्माणको योजना घिमिरे समूहले बनाएको छ । अहिले भैरहवा, बेलहिया, लुम्बिनी, तिलोत्तमा नगरपालिका, बुटवल नगरपालिकालगायतका क्षेत्रमा दर्जनांै होटल निर्माणका क्रममा रहेको र त्यसमा अर्बौंको लगानी भएको पर्यटन व्यवसायी एवं सिद्धार्थ होटल संघका कोषाध्यक्ष भोजेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्