कुश्मामा मेगाको ४८ औं शाखा «

कुश्मामा मेगाको ४८ औं शाखा

राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत्र प्राप्त वाणिज्य बैंक मेगा बैंक नेपाल लिमिटेडको पर्वत सदरमुकाम कुश्माबजारमा विस्तार भएको छ ।
धौलागिरि अञ्चलमै पहिलो शाखाको रूपमा आइतबार उद्घाटन गरी औपचारिक रूपमा कारोबार सुरु गरेको हो । उक्त शाखाको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै शर्माले कुश्माबजारमा बैंकहरूको आकर्षण बढ्दै गएको बताए । उनले नागरिकमैत्री सेवा प्रवाहमा जोड दिए । बैंकको आकर्षण बढ्दो छ, तर यो ठाउँको व्यापार व्यावसाय घट्दै गएकाले बैंकहरूले साना लगानीका उद्यमी व्यवसायीलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा मेगा बैंकका नायब महाप्रवन्धक तुलसीराम पोखरेलले उक्त बैंकले प्रवाह गर्दै आएका सेवाहरूको बारेमा जानकारी गराएका थिए । बैंकको कुश्मा शाखाले सबैखाले सेवा सुविधाहरू प्रदान गर्ने भएको छ । उनले हलोदेखि हाइड्रोसम्मलाई प्राथमिकतामा राखेर बैंकले लगानी गर्दै आएको जानकारी दिए ।
बैंकका सञ्चालक इन्द्रबहादुर मल्ल ठकुरीले मर्जरकै कारण केही बैंकहरूको वित्तीय विवरणहरूमा सुधार देखिरहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मेगा बैंकको पनि मर्जरको प्रक्रिया अघि बढेको जानकारी दिए । नेपाल राष्ट्र बैंकका साथै कम्पनी रजिस्ट्रारको कार्यालयबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैंक र टुरिजमबीच यथाशीघ्र संयुक्त कारोबारको तयारी भइरहेको उनले भनाइ छ ।
मेगामा टुरिजम बैंक गाभिएपछि झण्डै १ सयभन्दा बढी शाखा र एक्सटेन्सन शाखाहरू पनि वृद्धि हुने बैंकले जनाएको छ । यो बैंकसँगै कुश्माबजारमा निजी क्षेत्रका बैंकको संख्या ७ पुगेको छ । यसअघि कुमारी, एभरेस्ट, ग्लोबल, प्रभु, एनआईसी एसिया, बंगलादेश बैंकले कारोबार गर्दै आएका छन् भने विकास बैंक र लघुवित्तीय संस्थाहरू झन्डै एक दर्जनाको संख्यामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्